काखीमुनी सानो प्वाल पारेर ओपन हर्ट सर्जरी सफल

‘नेपालमै पहिलोपटक गर्न पाएकोमा निकै खुशी छु ।’



Download our app to get more features

टालीको  पादुभा विश्वबिद्यालयमा ५ वर्ष बसेर बिद्यावारीधी र १० वर्ष युरोप बसाँईपछि मलाई आफ्नै देश फर्केर स्वास्थ्य क्षेत्रमा केहि गरौं भन्ने सोच थियो । उपचारको लागि कम्तिमा एउटा भएपनि नयाँ प्रबिधि भित्र्याउन पाए हुन्थ्यो भनेर सोचिरहन्थे । कुनै पनि कुराले समय लिन्छ भने झै त्यो पुरा गर्न केही समय लाग्यो । 

आफैंले अध्ययन गरेको विश्वबिद्यालय जाने तयारी गर्दै थिएँ । त्यहीबेला धादिङ्गका भरत कार्कीसंग भेट भयो । उनकी १८ वर्षीया छोरी श्रीषाको मुटुमा प्वाल परेको थियो र श्वासप्रश्वासमा समस्या बढेको थियो । भरतजीको चाहना कुनैपनि दाग नदेखिने गरी सर्जरी गर्न पाए हुन्थ्यो भन्ने थियो । मैले काखीमुनीबाट सानो प्वाल बनाए मुटुको सर्जरी गर्न सकिने बताँए । तर नेपालमा अहिलेसम्म नभएको सर्जरी गर्न मसंग समय थिएन । मैले उनीहरुलाई पहिलोपटक भएकोले जोखिम हुने जानकारी गराएँ । उनीहरुलाई सबैकुरा यर्थाथ बताएर युरोपबाट फर्केपछि सर्जरी गर्ने बताँए । उनीहरुले पनि माने । 

इटालीको पादुभा विश्वबिद्यालयमा काखीमुनी सानो प्वाल बनाएर ओपन हर्ट सर्जरी भर्खर शुरु भएको थियो । मैले त्यहाँ तीन वटा सर्जरीमा सहभागी भएँ र धेरै कुराहरु सिके । पछि मलाई नेपाल फर्केपछि श्रीषा कार्कीको काखी मुनी सानो प्वाल पारेर मुटुको सर्जरी गर्न धेरै सजिलो भयो र सफल पनि भएँ ।

के हो ओपन हर्ट सर्जरी ?
साधारण भाषामा यो मुटुको शल्यक्रिया हो । हर्ट लङ्गस मेसिनको सहायताले मुटुको शल्यक्रिया गरिने प्रक्रियानै ओपन हर्ट सर्जरी हो । हर्ट लङ्गस मेसिन भनेको शरीरमा मुटु र फोक्सोले गर्ने काम कृत्रिम मेसिनले गर्ने हो । ओपन हर्ट सर्जरीमा मुटुलाई बन्द गनुपर्ने हुन्छ । मुटुले काम नगरेको समयमा मेशिनले मुटु र फोक्सोको काम गर्दछ । त्यतिखेर मुटुको प्वाल टाल्ने वा भल्भ फेर्ने काम गरीन्छ । यो मेशिनले मुटुले गर्ने तीन वटा काम गर्दछ । पहिलो रगतको पम्प गर्दछ, दोश्रो रगतको प्रवाह र तेश्रो काम भनेको श्वासप्रशवास हो ।

सन् १९५१ तिर यो मेशिनको आविश्कार भएको थियो भने १९०५२ बाट ओपन हर्ट सर्जरीको सुरुवात भएको हो । नेपालमा भने ओपन हर्ट सर्जरी सन् १९९० को दशकमा अष्ट्रेलियन डक्टरहरु आएर गरेको भन्ने कुरा छ । तर नेपालमै सन् २००० बाट वीर अस्पताल र शिक्षण अस्पतालले ओपन हर्ट सर्जरी शुरु गरेको होे । तर काखीमुनी सानो प्वाल पारेर गरिएको ओपन हर्ट सर्जरी भने पहिलोपटक ग्रिनसिटि अस्पताालबाट मैले नै शुरु गरेको हुँ । 

सामान्यतया ओपन हर्ट सर्जरी दुई प्रकारका हुन्छन् । पहिलो ट्र्याडिस्नल ओपन हर्ट सर्जरी र अर्को मिनिमल इन्भ्याजिभ सर्जरी हुन्छन् । यी दुबै नेपालमा चलनचल्तिमा छन् तर मैले शुरु गरेको सर्जरीलाई मिनिमल एक्जिलारी इन्सिजन अर्थात काखिमुनी प्वाल पारेर गरिने ओपन हर्ट सर्जरी हो । काखीमुनीबाट सानो प्वाल पारी  युरोप, अमेरिकामा पनि भर्खरै मात्रै शुरु भएको अप्रेशन  नेपालमा पनि पहिलो पटक आफुुले सफलतापुर्बक सम्पन्न गरेकोमा अत्यन्तै खुशीको अनुभव गरेको छु ।
  
किन काखिमुनीबाटै गर्ने ?

अन्य मुटुको सर्जरी जस्तै यो काखीमुनीबाट सानो प्वाल पारेर गरिने सर्जरीमा पनि जोखिम हुन्छ । साधारणतया एक देखि ५ प्रतिसतसम्म विरामीको मृत्यु हुन पनि सक्छ । यो सर्जरी गरिसकेपछि मस्तिष्कघात हुने, फोक्सो तथा मिर्गौलामा समस्या देखिने र निमोनिया हुने संभावना पनि हुन्छ । तर अन्य तरिका चिरेर गरिने ओपन हर्ट सर्जरीको तुलनामा काखीमुनीबाट सानो प्वाल पारेर मुटुको शल्यक्रिया गर्दा विरामीको तर्फबाट हेर्ने हो भने धेरै फाइदा छ ।

मेलै गरेको सर्जरी छोटो समयमै बिरामी स्वस्थ्य भएर घर फर्कन सक्छन । पहिलो पटक सर्जरी गर्ने श्रीषा कार्की चार दिनमै स्वस्थ भएर घर फर्किन सफल भइन् । काखीबाट भएको ओपन हर्ट र्सजरी पछि उनको मुटुमा रहेको समस्या समाधान भएको छ ।

यो सर्जरीमा ठूलो प्वाल नपारी गरीने हुँदा पछि गएर दाग देखिने, औषधी खाइरहनु पर्ने हुँदैन, सर्जरी पछि संक्रमण हुने र घाउ हुने समस्या आउंदैन । साथै यसमा उच्चतम प्रबिधि प्रयोग हुने भएकोले यो सेवा अर्न्तराष्ट्रिय स्तरको छ । 

कति लाग्छ खर्च?

खर्चका हिसावले नेपालमा काखीमुनीबाट सानो प्वाल पारी गरिने ओपन हार्ट सर्जरी निकै सस्तो हो । भारतमै यसको सम्पुर्ण खर्च ८ लाख भन्दा बढि लाग्छ तर हामीले पहिलोपटक सर्जरी गर्दा तीन देखि चार  लाख भनेका थियौं त्यो पनि पछि अस्पताल र सेभ द हर्ट भन्ने संस्था मिलेर निशुल्क गरीदियो ।

सर्जरीको खर्च विरामीको मुटुमा भएको समस्यामा पनि भर पर्छ । कसैको मुटुमा प्वालमात्रै टाल्ने हो भने सस्तो पर्न आयो तर मुटुकै भल्भ फेर्नुपर्यो भने लागत बढ्न सक्छ ।

अन्त्यमा नेपाल मुटुको उपचारमा निकै अघि बढिसकेको छ । युरोप, अमेरिकामा हुने मुटुको उपचार अब नेपालमै संभव भएको छ । नेपालमा मुटुको प्रत्यारोपण र कृत्रिम मुटु राख्न सकिदैन ति बाहेक सबै उपचार संभव भएकोले सबैलाई मुटु सम्बन्धि उपचार नेपालमै गर्न आग्रह गर्दछु । यि सबै म किन भनिरहेको छु भने जहाँ गएपनि आधुनिक चिकित्सा विज्ञानले जुन देश गएर उपचार गरेपनि  दुई वटा  कुरा मात्रै गर्न सक्छ । पहिलो विरामीको आयु लामो बनाउने र अर्को विरामीको जीवन सहज बनाइदिने ।

जाँदा जाँदै सबै मुटु स्वस्थ राख्ने पाँच सुझाव दिन चाहान्छु ।
१.नियमित व्यायम गनुहोस्
२.खानपानमा ध्यान दिनुहोुस्
३. धुमपान र मद्यपानबाट टाढै रहनुस् 
४.मोटोपना नियन्त्रण गर्नुहोस्
५. मधुमेह र उच्च रक्तचाप नियन्त्रण गर्नुहोस् 

                                                                           केहि जिज्ञासा भएमा डा. भट्टराईलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

डा.भट्टराईसंग दिनेश लामिछानेले गरेको कुराकानीमा आधारित
 

Last modified on 2016-09-16 23:03:51

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

2 Comments

  1. Ganesh sharma bhusalon Mon, Sep 19 2016 11:17 AM

    We proud of u sir.

  2. Well-done ..Dr.Anil really Good contribution our countries.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts