कर्णालीमा पहिलो पटक हाडजोर्नीको सफल प्रत्यारोपण

What's This?


Download our app to get more features

जुम्ला,  २७ भदौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पहिलो पटक हाडजोर्नीको सफल प्रत्यारोपण गरिएको छ ।

कालिकोट फोइमहादेव–७ का ६३ वर्षीया देवीकन्या पाण्डेको दाहिने हिपको हाडजोर्नीको प्रत्यारोपण गरिएको हो । एक हप्ताअघि भैँसीले हानेर पाण्डेको हड्डी भाँचिएको थियो । हाडजोर्नी विशेषज्ञद्वय डा मङ्गल रावल र पुजन रोकायाको संयुक्त टिमले बिरामी पाण्डेको हाडजोर्नीको प्रत्यारोपण गरेको थियो ।

तीन दिनअघि उहाँको शल्यक्रिया गरिएको थियो । “बिरामी आएको एक हप्ता समय भयो, उहाँको छाती र मुटुमा समस्या भएकाले पहिले त्यसलाई ठीक पारेर मात्र यसको शल्यक्रिया गरेका थियौँ, यो सफल भएको छ” डा रावलले भने । डा रावलका अनुसार कर्णालीमा यो ठूलो र पहिलो सफल शल्यक्रिया हो । हाडजोर्नीको सफल प्रत्यारोपण पछि अहिले बिरामीको अवस्थामा राम्रो सुधार आएको छ । अब जुम्लामा आइसियुको व्यवस्था हुनसके हाडजोर्नीको पूर्ण उपचार यही गर्न सकिने उनको भनाइ थियो ।

मेरुदण्ड र प्लास्टिक सर्जरीबाहेक अरु हाडजोर्नीको शल्यक्रिया सजिलै हुन थालेपछि प्रतिष्ठान रिफर सेन्टर बन्दै गएको जनाइएको छ । पहिलो पटक यो शल्यक्रिया जुम्लामा सफल भएपछि बिरामी पाण्डेले निकै खुसी व्यक्त गरे । बिरामीका छोरा देवीकृष्ण पाण्डेले प्रतिष्ठानमा आमालाई शल्यक्रिया गर्दा आर्थिक रुपले सहज भएको बताए ।

रासस

Last modified on 2016-09-12 12:34:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts