भारतीय मेडिकल कलेजको अस्पतालमा आगलागी, १० नवजात शिशुको मृत्यु
भारत, उत्तर प्रदेश राज्य अन्तरगतको एक मेडिकल कलेजको अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु हुनुका साथै १६ शिशु गम्भीर अवस्था रहेको अधिकारीहरूले शनिबार बताएका छन् ।
उत्तर प्रदेशको झाँसी सहरमा रहेको महारानी लक्ष्मीबाई मेडिकल कलेजको विशेष नवजात केयर युनिट (एसएनसीयू) मा भीषण आगलागी हुँदा १० नवजात शिशुको जलेर र निसास्सिएर मृत्यु भएको हो। आगो लागेको वार्डमा ५५ नवजात शिशु भर्ना गरिएको थियो। ४५ नवजात शिशुको सकुशल उद्धार गरिएको छ। ती शिशुको उपचार भइरहेको छ। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ करिब १५ दमकल घटनास्थलमा पुगेका थिए। उद्धारका लागि भारतीय सेनालाई पनि बोलाइएको थियो। सेना र दमकलले मिलेर आगो निभाएका थिए ।
घटनास्थलको फुटेजमा वार्डभित्र जलेको विस्तरा तथा पर्खालहरू देखिएका थिए भने आक्रोशित परिवारहरू अस्पताल बाहिर पर्खिरहेका थिए । यसै गरी आगलागीबाट उद्धार गरिएका बच्चाहरूलाई सुरक्षित ठाउँमा राखिएको थियो ।
आगलागीको घटनामा दश जना शिशुको दुखद मृत्यु भएको उत्तर प्रदेशका उप मुख्यमन्त्री ब्रजेश पाठकले पत्रकारहरूलाई बताउनु भएको छ । उहाँका अनुसार सातवटा शवको पहिचान भइसकेको छ भने तिन वटा शवको अहिलेसम्म पहिचान हुन सकेको छैन ।
आगलागीको कारणबारे अनुसन्धान गरि जिम्मेवारहरू विरुद्ध कडा कारबाही गरिने पाठकले जनाउनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी अविनाश कुमारले युनिटमा विद्युतीय सर्टसर्किटका कारण आगलागी भएको बताउनु भएको छ ।
गम्भीर घाइतेहरूलाई चिकित्सा सेवा प्रदान गरिरहेको प्रमुख जिल्ला अधिकारी अविनाश कुमारलाई उदृत गरी हिन्दुस्तान टाइम्सले जनाएको छ ।
स्थानीय सञ्चार माध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै वातावरणमा अक्सिजनको स्तर बढाउन प्रयोग गरिने मेसिनरीको टुक्रामा आगलागी भएको जनाएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्स मार्फत बालबालिकाको मृत्युलाई ’हृदयविदारक’ घटना भन्दै निर्दोष सन्तान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्नु भएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोकाकुल परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्दै सम्बन्धित अधिकारीहरूलाई राहत र उद्धार कार्य गर्न निर्देशन दिनु भएको छ ।