हरेक किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाइने

सरकारले देशभरिका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आगामी माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी रूपमा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) अभियान सञ्चालन गर्ने मन्त्रीस्तरीय निर्णय गर्नुभएको मन्त्रालय जानकारी दिएको छ।
मन्त्री प्रदीप पौडेलले आफ्नो सामाजिक सञ्जालमा लेख्नु भएको छ, “पाठेघरको मुखको क्यान्सरका कारण बढ्दै गरेको अकाल मृत्युको जोखिमबाट जोगाउने उद्देश्यसाथ यही माघ २३ गतेबाट दुई सातासम्म देशैभरका किशोरीहरूलाई नि:शुल्क खोप लगाउने निर्णय गरेका छौँ।“
मन्त्री प्रदीप पौडेलले लेख्नु भएको छ, “यस निर्णयबाट १६ लाख ८८ हजार किशोरी यस वर्ष लाभान्वित हुने हाम्रो अपेक्षा छ। आगामी वर्षबाट यसलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने हाम्रो कार्यक्रम छ। “
मन्त्री प्रदीप पौडेलले अभियान सफल पार्न रचनात्मक सहयोगका लागि सबैलाई अनुरोध गर्नुभएको छ।
मन्त्रालयका अनुसार १५ दिनसम्म सञ्चालन हुने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाइने छ। किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन खोप अभियान सञ्चालन गर्नुपरेको हो।
मन्त्रालयले आगामी वर्षबाट नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप समावेश गराउने निर्णय गरेको छ।
नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ। ‘एचपिभी’ खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को केही सहयोग र सरकारले पनि खरिदका लागि लगानी गरेको छ। नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर बढी देखिने र त्यसपछि स्तन क्यान्सर रहेको छ।