चिकित्सातर्फको नोबेल पुरस्कार: एम्ब्रोस र ग्यारी रुभ्कुनलाई

माइक्रो आरएनए पत्ता लगाउने वैज्ञानिकहरू ग्यारी रुभ्कुन र भिक्टर एम्ब्रोसलाई चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।
’माइक्रो आरएनए’ आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा यसको भूमिकाका लागि यी दुई अमेरिकी वैज्ञानिकलाई पुरस्कारबाट सम्मानित गरिएको हो। उहाँहरूले एक मिलिमिटर लामो एक प्रकारको जुकामा कोष उत्परिवर्तन किन भयो र कहिले भयो भनेर निर्धारण गर्न अनुसन्धान गर्नुभएको हो।
सन् १९९३ मा दुई लेखमा प्रत्येक कोषलाई सान्दर्भिक निर्देशनहरू मात्र चयन गर्न अनुमति दिने आनुवंशिक प्रणालीको नियमनसम्बन्धी उहाँहरूको आधारभूत निष्कर्ष प्रकाशित भएको थियो।
आनुवंशिक गतिविधिको नियमनलाई बुझ्नु दशकौँदेखि एक महत्त्वपूर्ण लक्ष्य रहेको नोबेल पुरस्कार निर्णायक मण्डल (जुरी)ले बताएको छ। यदि आनुवंशिक प्रणालीको नियमनमा गल्ती भयो भने यसले क्यान्सर, मधुमेह वा स्वप्रतिरक्षाजस्ता गम्भीर रोगहरूको जोखिम निम्त्याउन सक्छ। निर्णायक मण्डलले भनेको छ, “उहाँहरूको अभूतपूर्व खोजले आनुवंशिक प्रणालीको नियमनको पूर्ण रूपमा नयाँ सिद्धान्त प्रकट गर्यो जुन मानवसहित बहुकोषीय जीवहरूको लागि आवश्यक साबित भयो।” यो जोडीले माइक्रो आरएनए पत्ता लगाउन र जिनको नियमनमा यसको भूमिकाको खोजीमा सहकार्य गरेको थियो ।
७० वर्षीय एम्ब्रोस युनिभर्सिटी अफ म्यासाचुसेट्स मेडिकल स्कुलका प्राध्यापक हुनुहुन्छ भने ७२ वर्षीय रुभ्कुन हार्वर्ड मेडिकल स्कुलका प्राध्यापक हुनुहुन्छ ।
सन् १८९६ मा वैज्ञानिक अल्फ्रेड नोबेलको निधन भएको दिन डिसेम्बर १० मा स्टक होममा आयोजित एक औपचारिक समारोहबिच उहाँहरूलाई उक्त पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशि १.१ करोड स्विडिस क्रोन रहेको छ । नोबेल पुरस्कारमा एउटा प्रमाणपत्रमा, एउटा सुनको पदक र दुई जनाले बाँड्नुपर्ने १० लाख डलरको चेक समावेश छ ।
रुभ्कुनले यो सम्मान जित्नु ‘भूकम्प’ जस्तै भएको बताउनुभयो । “यो ठुलो कुरा हो, यो ठुलो भूकम्प जस्तै हो”, ७२ वर्षीय हार्वर्ड मेडिकल स्कुलका प्राध्यापक रुभ्कुनले स्टक होममा पुरस्कार घोषणा गरिए लगत्तै स्विडिस सार्वजनिक रेडियो एसआरएलाई भन्नुभयो ।
२०८१ असोज २१, सोमबार बिहान ४ बजे अमेरिकामा नोबेल पुरस्कार समितिको फोन आउँदा रुभ्कन मस्त निन्द्रामा हुनुहुन्थ्यो। “बाहिर अँध्यारो छ र हामी घरभरि किन दौडिरहेका छौँ भनेर कुकुर अलमलमा परेको थियो”, उहाँले भन्नुभयो ।
उहाँले आफू पहिला पनि ‘केही पटक’ उक्त समारोहमा सहभागी हुनु भएको बताउनुभयो । “वाह ! यो अविश्वसनीय छ, मलाई थाहा थिएन”, म्यासाचुसेट्स मेडिकल स्कुलका ७० वर्षीय प्राध्यापक एम्ब्रोसले भन्नुभयो, “राम्रो, अद्भुत ।”
सहकार्य गर्दै तर अलग–अलग काम गर्दै उहाँहरूले माइक्रो आरएनए पत्ता लगाउनुभयो । माइक्रो आरएनए साना आरएनए अणुहरूको नयाँ वर्ग हो । यसले नियमनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ र बदलामा प्रत्येक कोशिकालाई सान्दर्भिक निर्देशनहरू मात्र छनोट गर्न अनुमति दिन्छ ।गलत तरिकाले हुने जिन नियमनले क्यान्सर र मधुमेह जस्ता गम्भीर रोग निम्त्याउन सक्छ ।