बालबालिकामा कोरोनाका कस्ता लक्षणहरू देखिन्छन्, जोगाउन के गर्ने ? यसो भन्छन् डा.बसौला
सन् २०१९ को डिसेम्बरदेखि चीनको वुहानबाट सुरू भएको कोरोनाभाइरसको प्रभाव अहिले पनि विश्वमा रहेको छ । नेपालमा कोरोनाभाइरसको प्रकोप बढ्दै जाँदा संक्रमित हुने बालबालिकाको संख्यामा पनि वृद्धि भएको देखिएको छ ।
कोरोनाभाइरस संक्रमणको दोस्रो लहरले पहिलेभन्दा तुलनात्मक रूपमा बालबालिकालाई बढी प्रभाव पारेको थियो । बालबालिकाको धेरै परीक्षण नभएकोले दोस्रो लहरले देखिएभन्दा बढी संक्रमित भएको हुन सक्ने ठानिएको थियो । नेपालमा कोरोनाभाइरसको युके भेरिअन्ट, डबल म्युटेन्ट भेरिअन्ट र ओमिक्रोंन भेरिअन्ट देखापरेका थिए । मुलुकमा डेल्टा प्लसबाट संक्रमित बालबालिका र वृद्धसमेत थिए । तेस्रो लहरमा केही कमी आएकै समय निषेधाज्ञा खुकुलो गरिएपछि आम नेपालीको देखिएको व्यवहारले आर्को लहर चाँडो आउने सम्भावना देखिएको थियो । जसको प्रभाव अहिले देखिएको छ । डेल्टा प्लससहित हालसम्म नेपालमा विभिन्न भेरिएन्ट देखिएको छ ।
बालबालिकामा देखिने लक्षणहरू
* बालबालिकाले राम्रोसँग नखाने ।
* छिटोछिटो सास फेर्ने ।
* खेल्न मन नगर्ने ।
* पखाला लाग्ने ।
* खोकी लाग्ने वा ज्वरो आउने जस्ता लक्षणहरु छन् भने बेलैमा परीक्षण गर्नुपर्ने हुन सक्छ ।
* प्रायः बालबालिकाहरुमा श्वासप्रश्वास असहज हुने ।
* ज्वरो आउने र निमोनिया जस्ता लक्षणहरु देखिने गरेका छन् भने कतिपय बालबालिकाहरुमा संक्रमित भए पनि लक्षणहरु भने नदेखिने पनि हुन सक्छ ।
* बालबालिकाहरुमा बिरामी भएको (रोग लागेको) ४ देखि ६ हप्ता पछि मल्टीसिस्टम इन्फलेमेटरी सिनड्रोम इन चिल्ड्रेन (एम.आइ.एस.सी) भई बच्चाहरू सिकिस्त हुन सक्छन् ।
* यसको उपचार निकै महँगो हुन्छ, अत्यन्तै कडा रूपमा प्रस्तुत हुने र आईसीयुको आवश्यकतासँगै कतिपय अवस्था जटिलसमेत हुन्छ ।
* उक्त अवस्थाको लक्षणहरु जस्तै ज्वरो आउने, झाडापखाला हुने, बढी पेट दुख्ने, श्वास फेर्न गाह्रो हुने र शरीरमा डाबर आउनुको साथै मुटु तथा मृगौलाको समस्याहरू पनि हुन सक्छन् ।
* यस्तो अवस्थामा समयमा उपचार नपाएमा मृत्युसमेत हुन सक्छ ।
बालबालिकालाई कसरी जोगाउने ?
- कोभिडको जोखिम हालसम्म पनि कायम नै रहेकोले बालबालिकालाई कोरोना पोजेटिभ र अभिभावकलाई नेगेटिभ भएमा पनि अभिभावकले समेत जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने हुन्छ ।
- कोभिड संक्रमणको आशङ्का भएका वा पुष्टि भएका र ज्वरो, खोकी लगायत समस्या भएका बालबालिकालाई सामान्यतया घरमै व्यवस्थापन गर्नु उपयुक्त हुन्छ ।
- कोभिड संक्रमणको पुष्टि भएका बालबालिकाहरुमा दम, मुटु रोग, मधुमेह, छारे रोग आदि समस्या छ भने संक्रमित बालबालिकालाई तत्कालै अस्पताल लैजानुपर्छ ।
- भर्खर जन्मिएका बालबालिकालाई सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने र दुध चुस्न नसक्ने समस्या देखिएमा पनि तत्काल अस्पताल लैजानुपर्छ ।
- अभिभावकले आफूसँगै बालबालिकालाई मास्कको अनिवार्य प्रयोग गर्न सिकाउने, हातको सरसफाइ, सामाजिक दुरी, संक्रमणको बेला विद्यालय नजाने, सरकारद्वारा जारी गरिएका निर्देशन पालना गर्न लगाउनेलगायत अन्य स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्न सिकाउनुपर्छ ।
- ५ वर्ष भन्दामाथी उमेर समूहका सम्पूर्ण बालबालिकाहरुले कोभिड–१९ बिरुद्दको खोप अनिवार्य लगाउने ।
यसअघि, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संक्रमणको लहर आउन सक्ने र बालबालिका बढी संक्रमित हुने पूर्वानुमानसहित स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको थियो । बालबालिकामा संक्रमण भएमा बढी चुनौती छ किन भने बालबालिकाको उपचार गर्ने सरकारी तथा निजी अस्पताल सीमित छन् । सरकारी स्तरमा केन्द्रीय अस्पतालको रुपमा कान्तिबाल अस्पताल मात्रै छ भने निजीमा पनि निकै कम अस्पताल बालबालिका केन्द्रित छन् ।
नेपालमा जम्मा ५ सय हाराहारी पेड्रियोटिसियनहरु छन् । अहिलेको संरचनाले भोलिको महामारीको संरचनालाई थेग्न सक्दैन । त्यसैले अबको सम्भावित जोखिम कम गर्न पूर्वतयारीस्वरुप सरकारले आवश्यक पूर्वाधारको तयारी गर्नु जरुरी देखिन्छ ।
यसअघि, कोभिड–१९ का बिरामीमध्ये केही बालबालिकालाई कडा मात्रामा असर गरेको देखिएको थियो । तीमध्ये निमोनिया र एम.आई.एस.सी (मल्टिसिस्टम इन्फ्लमेटरी सिन्ड्रोम) लक्षणहरू पर्छन् । तर पनि निमोनिया वयस्क मानिसको तुलनामा बालबालिकामा बिरलै देखिएको थियो । केही बालबालिकामा भने बिरामी भएको २ देखि ६ हप्तापछि सामान्य र लक्षण नभएका बच्चामा एमआईएससी देखिएको थियो ।
धेरैजसो बालबालिकामा माथि उल्लिखित गरिएजस्तै सामान्य लक्षण देखापरेमा घरमै विशेष निगरानी गर्नुपर्ने हुन्छ । अहिलेदेखि नै बालबालिकाहरुको लागि कोभिड कक्ष, उच्च निर्भरता कक्ष (एच.डि.यु), गहन सघन कक्ष (आइसियु) जस्ता महत्त्वपूर्ण कार्यको व्यवस्थापनमा जुट्नु पर्ने हुन्छ ।
(लेखक बालरोग विशेषज्ञ डा. युवानिधि बसौला कान्ति बाल अस्पताल, काठमाडौंका निर्देशक हुन् ।)