नेपाल कोरोनाको चौथो लहर र मङ्किपक्ससको उच्च जोखिममा, सावधानी अपनाउन विज्ञको सुझाव



Download our app to get more features

काठमाडौं, २१ साउन । विश्व स्वास्थ्य सङ्गठनले नेपाल कोरोनाको चौथो लहर र मङ्किपक्स भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । 

नेपाल स्थित विश्व स्वास्थ्य सङ्गठनले काठमाडौंमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै नेपाल कोरोनाको चौथो लहर र मङ्किपक्स भाइरसको उच्च जोखिममा रहेको बताएको हो ।

सङ्गठनका प्रमुख डा.राजेश सम्भाजीराव पाण्डवले पछिल्लो समय नेपालमा जुन गतिमा कोरोना सङ्क्रमित थपिँदै छन् त्यसले चौथो लहरको जोखिम बढाएको भन्दै सङ्गठनले कोरोना महामारी र मङ्किपक्सको जोखिमलाई नजिकबाट नियालिरहेको बताए ।
 
उनले दक्षिण पूर्वी एशियामै पहिलोपटक भारतमा मङ्किपक्स भाइरसबाट एकजनाको मृत्यु भएको र सङ्क्रमण पनि बढ्दै गएकाले नेपाल उच्च जोखिममा रहेकाले सोही अनुसारको तयारी भइरहेको बताए ।

डा. पाण्डवले आपतकालिन र प्रकोपको समयमा सञ्चारकर्मी तथा सञ्चारमाध्यमको भूमिका निकै नै महत्वपूर्ण हुने बताए । उनले यस्तो समयमा सञ्चारकर्मीहरुले रोगको पहिचान, रोकथाम र नियन्त्रणमा सही जानकारी र सल्लाह प्रदान गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उल्लेख गरे । 

स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजना तथा विश्व स्वास्थ्य सङ्गठन नेपालको प्राविधिक सहयोगमा शुक्रवार आयोजित ‘कोभिड–१९ को महामारी तथा मङ्कीपक्सको वर्तमान अवस्था र तयारी’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उनले फेरि विश्वभर नै कोभिड– १९ को सङ्क्रमण र मृत्युको सङ्ख्या बढेको उल्लेख गर्दै गत ६ हप्तामा विश्वव्यापी साप्ताहिक सङ्क्रमणको सङ्ख्या लगभग दोब्बर भएको बताए ।

कार्यक्रममा सङ्गठनका स्वास्थ्य आपताल कार्यक्रमका डा.एलिसन गोकोटानोले विश्वका विभिन्न मुलुकमा देखिएको मङ्किपक्स भाइरसको सङ्क्रमण अधिकांश समलिङ्गी समुदायका रहेको भएपनि यो सबै समुदायका व्यक्तिमा सर्ने भएकाले सङ्गठनले यसलाई विश्व स्वास्थ्य आपतकालको रुपमा घोषणा गरेको बताए । 

उनले हालसम्म विश्वका ४० भन्दा बढी मुलुकमा गरी २४ हजारभन्दा बढीमा मङ्किपक्स भाइरसको सङ्क्रमण देखिएको र पछिल्लो समय भारतमा पनि सङ्क्रमण देखिन थालेकाले नेपालमा जोखिम बढेको हुँदा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे ।

सङ्गठनको खोप कार्यक्रमका प्रमुख डा.विनोद बुराले नेपालमा हालसम्म बुस्टर मात्रा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या २५ प्रतिशत मात्रै रहनु चिन्ताको विषय भएको बताए । 

उनले कोरोना महामारीको जोखिम कायमै रहेकाले कोरोनाको बुस्टर मात्रा लगाउन सबैलाई आग्रह गर्दै खोपको अभावभन्दा पनि माग नभएको बताए ।

कोरोनाविरुद्धको खोपको प्रभावकारिता राम्रो भएकाले साउन लागेदेखि नेपालमा बिहीवारसम्म मृत्यु भएका १७ जनामध्ये १३ जना खोप नलगाएका व्यक्तिहरू रहेको भन्दै डा.बुराले कोरोनाविरुद्धको खोप लगाउनुपर्ने विषयमा सञ्चार माध्यमले थप जनचेतना फैलाउन आवश्यक रहेको उल्लेख गरे ।

मङ्किपक्स भाइरसविरुद्धको खोप विकासको विषयमा के हुँदैछ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले हालसम्म मङ्किपक्स भाइरसविरुद्धको छुट्टै खोपको विकास नभए पनि दादुराविरुद्धको खोप विश्वका केही मुलुकमा दिइने गरेको बताए ।

उनले अमेरिका र युरोपीय मुलुकहरूमा दादुराको खोपले नै काम गरिरहेकाले मङ्किपक्स भाइरसविरुद्धको प्रभावकारी खोपको विषयमा अध्ययन अनुसन्धान भइरहेको पनि जानकारी गराए ।

यस्तै सङ्गठनका जनस्वास्थ्य विज्ञ डा. शीतल अधिकारीले मान्छेबाट मान्छे र जनावरबाट मान्छेमा मङ्किपक्स भाइरस सर्ने भएको तथा दादुराको जस्तै लक्षणहरू देखिने भएकाले वेवास्ता नगर्न आग्रह गरे ।

छाला र मुखमा रहेको दाग, बिमिरा फुट्दा र नजिक रहेको व्यक्तिमा मङ्कीपक्स रोग सर्ने जानकारी दिँदै डा. अधिकारीले घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरबाट निस्किएको तरल पदार्थ जस्तै थुक, ¥यालको सम्र्पकबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष सम्पर्कबाट, सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो रोग सर्ने गरेको बताए ।

काटिएको, बिमिरा वा फुटेको छाला, आँखा, नाक वा मुख, श्वासनली जस्ता अङ्गबाट पनि यो भाइरस सर्ने गरेको हुँदा यसबाट जोगिनका लागि विशेष सावधानी अपनाउन उनले आग्रह गरे ।

डा.अधिकारीले मङ्कीपक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्णरूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पञ्जा लगाउने, निययमितरूपमा साबुन पानीले हात हुने वा सेनिटाइजर प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिको लुगा, तौलिया, ओछ्यान र भाँडा तातो पानी, साबुन वा डिटर्जेन्टले धुने, रोगबाट निको भएको कम्तिामा १२ हप्तासम्म यौन सम्पर्क नराख्न पनि सुझाव दिए ।

यस्तै मङ्कीपक्सको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिले पिसिआर परीक्षण गर्ने, सङ्क्रमितको सम्र्पकमा आएको सतह स्थान वा कोठा डिटर्जेन्टले निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने र फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्नुपदछ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले बढ्दो कोरोनाको जोखिम र मङ्किपक्सको जोखिमलाई ध्यानमा राखेर सरकारले मुख्य १७ नाकामा स्वास्थ्य जाँचलाई कडाइ गरेको बताए ।

उनले देशका १६ वटा ठूला सरकारी अस्पताललाई मङ्किपक्सको उपचार गर्ने डेडिकेटेड अस्पताल तोकिएको भन्दै त्यहाँका १६ जना छाला तथा यौन रोग विषेशज्ञलाई विज्ञको रुपमा खटाइएको पनि बताए ।

उनले हाल रहेका अस्थायी हेल्थ पोस्टहरूमा स्थायी दरबन्दी कायम गरी कर्मचारीलाई नियुक्त गर्ने र आफ्नै भवनमा सेवा दिने गरी काम अघि बढेको पनि जानकारी दिए ।

डा.गेलालले हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै मङ्किपक्स भाइरसको परीक्षण भइरहेको भएपनि आउने दिनमा यसलाई प्रदेश प्रयोगशालामा पनि सुरु गर्ने गरी तयारी भइरहेको भन्दै मङ्किपक्सको जोखिमलाई ध्यानमा राखेर सरकारले आफ्ना सबै संयन्त्र परिचालन गरेको बताए । 

कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनको तर्फबाट विज्ञहरू डा. पल्पसा कंशाकार, डा. प्रतिक्षा आचार्य, डा. चतुरा इदिरिसुरिया लगायतले कोभिड १९ को पछिल्लो अवस्था, खोपको पहुँच, नेपालमा मङ्कीपक्सको अवस्था र जोखिम, कोरोनाको चौथो लरहको जोखिम र अवस्था लगायतका विषयमा प्रस्तुति दिएका थिए ।

Last modified on 2022-08-06 09:13:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts