‘मेडिकल सिटी’ भरतपुरमा रगत अभावको समस्या समाधानका लागि डा. अधिकारीको सुझाव
चितवन, ६ साउन । चितवनस्थित भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवम् फिजिसियन डा. भोजराज अधिकारीले ‘मेडिकल सिटी’ को रूपमा विकास हुँदै गएको भरतपुर र समग्र जिल्लामै सधैजसो हुने रगतको अभावको विषयमा चिन्ता व्यक्त गरेका छन् ।
जिल्लामा रगत अभाव हुनुको कारण र अभाव हुन नदिन डा. अधिकारीको सुझाव यस्तो छ :
चितवनमा हाल रगत अभाव हुनुको मुख्य कारणहरु
खपत बढ्नु : विशेष गरी दीर्घ रगत कमी हुने रोगीहरू बढ्नु, दुर्घटनामा रक्तस्राव हुनु, रक्त क्यान्सरका बिरामीमा धेरै रगत चाहिनु, तीन वटा ठुला अस्पताल भरतपुर केन्द्रीय अस्पताल, चितवन मेडिकल कलेज (सिएमसी) र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा नियमित मृगौला को डायलाइसिस् गरिरहेका बिरामीलाई रगत चाहिनु, सानाठुला अप्रेसनहरुमा हुन सक्ने रगत कमिको लागि रगत रिजर्भ वा रगत प्रयोग हुनु, चितवनमा कलेजो प्रत्यारोपन (सिएमसीमा) समेत हुदा बेलाबखत धेरै रगत खपत हुनु ।
तात्कालिन कारण : वर्षाको मौसम मानिसहरु काममा व्यस्त रहनु, झरीको कारण ब्लड डोनेसन कार्यक्रम नराखिनु वा कम राखिनु, रक्तदान कार्यक्रम भए पनि सहभागिता कम हुनु, अत्याधिक गर्मीको कारण रक्तदान गर्दा कमजोर हुने र प्रेसर घट्ने भ्रमले ब्लड दिन मानिसहरु हच्कनु, तालिका विना माग भइपरी आएमात्र डोनेसन हुने चलन बस्नु ।
रक्तदान गर्न उत्प्रेरणाको कमी : स्वस्थ मानिसले वर्षमा ४ पटक कुनै नोक्सानी बिना रक्तदान गर्न सक्छ, विश्वमा हालसम्म एकै व्यक्तिले १ हजार १ सय ७३ पटकसम्म रक्तदान गरेको तथ्याङ्क छ, रक्तदानले रक्तसञ्चारमा झनै सकारात्मक प्रभाव पार्छ ।
रगत अभाव हुन नदिन के गर्ने ?
- अस्पतालहरुमा रगत जरुरीको एकरुपता, गम्भीरता र अत्यावश्यक अवस्था पहिचाहन गर्ने संयन्त्र बनाउने, प्रयोग नभएको रगत खेर जान नदिने ।
- शैक्षिक क्षेत्रमा उच्च माध्यामिक र कलेजहरुले वर्षमा ४ पटक रक्तदानको क्यालेन्डर बनाउने ।
- बैंक, बित्तिय संस्था, सामाजिक संघ-संस्था, क्लब, टोल सुधार, व्यावसायिक समूह आदिले सामाजिक दायित्व अन्तर्गत वर्षमा कम्तीमा एक पटक अनिवार्य रक्तदानको कार्यक्रम आफ्नो सदस्यको स्वास्थ्य परिक्षणको साथ राख्ने ।
- पालिकाहरुले वडा स्तरीय रक्तदानलाई वार्षिक नीति योजनामा राख्ने र ब्लड डोनरहरुलाई सम्मान स्वरुप केही आर्थिक भुक्तानी सहितको स्वयम् सेवक वा कुनै सट्टा प्रोत्साहनको घोषणा गर्ने (जस्तै वर्षमा ४ पटक डोनेसन गरे प्रोत्साहन भत्ता दिने, कर्मचारी भए सट्टा बिदा दिने) आदी ।
- ब्लड बैंकले डोनरहरुको रोस्टर, नाम, ठेगाना, दुर्लभ रक्तदाताको रेकर्ड राख्ने, डोनर मोटिभेसन कार्यक्रमहरु आयोजना गर्ने, सार्वजनिक अपिल गर्ने, डोनेसनसँगै डोनर मोटिभेसन घुम्ती शिविरहरु सञ्चालन गर्ने, रगत आवश्यकता र खपतको अडिट राख्ने ।
- विज्ञ मार्फत रक्तदान सम्बन्धी भ्रम हटाउन स्वास्थ्य सूचना प्रवाह गर्ने, स्थानिय पाठ्यक्रममा समेत यस्ता विषयवस्तु समावेश गर्ने ।
भरतपुरलाई ‘मेडिकल हब’ बनाउन जोडदार माग
डा. अधिकारीले ‘मेडिकल सिटी’ को रूपमा विकास हुँदै गएको भरतपुरलाई ‘मेडिकल हब’ बनाउन जोडदार माग समेत गर्दै आएका छन् ।
देशमा विभिन्न समस्या पर्दा उपचारको लागि भरतपुर पहिलो केन्द्र बन्ने गरेको भन्दै उनले भने भने– ‘भुइचालो आउँछ, उपचारलाई भरतपुर । कोरोना आउँछ, उपचारलाई भरतपुर । नारायणगढ–मुग्लिन बाढिपहिरो आउँछ, रिटन ब्याक टु भरतपुर !’
उनले भरतपुरमा एमडि, डिएम पढाइ सुरु भएको, केन्द्रिय जेनेरल (भरतपुर अस्पताल) र क्यान्सर अस्पताल अनि सफल मेडिकल कलेजहरु भरतपुरमै रहेको तर्क राखे । महानगरको ४२ स्वास्थ्य संस्था, २ दर्जन निजी अस्पतालहरु, १२ नर्सिङ कलेज, करिब एक दर्जन अन्य स्वास्थ्य प्राविधिक कलेज, डायग्नोस्टिक ल्याब र सय भन्दा बढी पोलिक्लिनिक, करिब एक दर्जन खुलिसकेका वा पाइपलाइनमा रहेका नेपाली औषधि कम्पनी आदि भरतपुरलाई ‘मेडिकल हब’ बनाउन सकिने आधार डा. अधिकारीले पेस गरे ।
उनले भरतपुर योग अभ्यास, प्राकृतिक चिकित्सा उपचारको पनि हब रहेको बताए । स्वास्थ्यबिमा कार्यक्रममा एक नम्बर बिमित । मेडिकल टुरिजमको पहिलो गन्तव्य बन्न सक्ने सम्भावना समेत रहेको उनको दाबी छ ।
अनि औपचारिक निर्णय गरेर नियमन तथा प्रबर्द्धन गर्ने गरि शक्तिशाली निकाय बनाएर मध्य नेपाल को ‘मेडिकल हब’ बनाउन किन ढिलाइ ? डा. अधिकारीको प्रश्न छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।