भरतपुर अस्पतालका मेसु डा. पौडेलको तेस्रो कृति असार ३२ मा विमोचन, के छ पुस्तकमा ?
चितवन, २७ असार । चितवनस्थित भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलको तेस्रो कृति ‘लय छुटेको समय’ नामक पुस्तक यहि असार ३२ गते शनिवार विमोचन हुँदैछ ।
नवलपरासीको गैँडाकोटस्थित नारायणी रिसोर्टमा शनिवार दिउँसो ३ बजे पुस्तक विमोचन गर्ने कार्यक्रम रहेको डा. पौडेलले हाम्रो डक्टर न्यूजलाई जानकारी दिए ।
खास के छ पुस्तकमा ?
लेखक डा. पौडेलका अनुसार ‘लय छुटेको समय’ मा दुई खण्डका निबन्ध संग्रहहरु रहेका छन् ।
२२ शिर्षकको पहिलो खण्ड
उनका अनुसार यसको पहिलो खण्डमा उपचारको उपक्रममा २२ वटा शिर्षक छन् । जसमा रोगका जरा कहाँसम्म, अधबैँसेको प्रेम, असजिला अस्पतालहरू, उपचारमा विभेदैविभेद, कोभिड-१९ को समाजशास्त्र, नसाभित्र नसा, उपचारमा लोभको मात्रा, रोगको उपचार गरौँ कि गरिबीको, गिजोलिएको यौनजीवन, सिगरेट लभ, मृत्यु बेहोरेका बिरामी, स्पाइनल इन्जुरीसँग, पर्वत जिल्लामा काम गर्दा, रूप नै बैरी, सपनाका डोबहरू, पटकै-पटक चोटपटक, सङ्क्रमणका सकसहरू, बिरामी र डाक्टरका कथा, स्वास्थ्यमा समाजवाद, कोरोनामा उसको मृत्यु, शवले पनि सास्ती पायो र यसरी बचौँ कोभिङ-१९ बाट जस्ता शिर्षकहरू रहेका छन् ।
उनका अनुसार पहिलो खण्डमा मेडिकल सोसोलोजी अर्थात अस्पताल र मानिसहरुको मनोविज्ञान तथा भावनासँग सम्बन्धित विषयबस्तु समेटिएको छ ।
लकडाउन डायरी सहितको दोस्रो खण्ड
डा. पौडेलको ‘लय छुटेको समय’ को दोस्रो खण्डमा कोरोना सुरु भएदेखि कोरोनाको दोस्रो कहरसम्मका घटना विवरण समेटिएको ‘लकडाउन डायरी’ रहेको छ । यस खण्डमा ३५ वटा शिषर्क छन् ।
जसमा लकडाउन घोषणाले मख्ख, कोरोनाले बदलेको दैनिकी, कोरोनासँग नयाँ वर्ष, वीरगञ्जमा कोरोना, लकडाउनको अन्तिमतिर, खुकुलो लकडाउन र बाढी-पहिरो, निषेधाज्ञा सुरू, निषेधाज्ञाको दोस्रो दिन, आफैँ क्वारेन्टिनमा, दिनमै ५० जना पोजिटिभ, निषेध आदेशको लहर, भर्ना लिनै नमान्ने, साँच्चै डर लाग्न थाल्यो, रोगको चर्को रूप, विषाक्त समाचारहरू, डराउँदै उपचार, सुस्त र त्रस्त दिनहरू, असोज लाग्यो, आईसियू अभाव, कोभिड-१९ भ्याक्सिनको विकासक्रम, फटाफट पोजिटिभ, लज्जास्पद, दसैँ आयो फुस्सा, कोरोनो र म्यारोडोना, निरन्तरको कहर, माघे सङ्क्रान्ति, नयाँ कोरोना, खोप र कोरोना अपडेट, खोप लगाइयो, अस्पतालको वार्षिकोत्सव, नयाँ कोरोनासँग नयाँ वर्ष, नेपालगञ्जमा कोरोना, घर भित्रियो महामारी र मलाई माफ गर जस्ता शिर्षकहरू रहेका छन् ।
यी विषयवस्तुहरु यथार्थपरक र उत्कृष्ट प्रस्तुतिका साथ सिलसिला मिलाएर प्रस्तुत गरिएको छ ।
साहित्यकार चिकित्सक
डा. पौडेलले सानैदेखि साहित्यमा निकै रुची राख्दथे । स्कुल पढ्दादेखि नै कविता, गजल, कथा तथा निबन्ध लेखनमा उनको निकै रुची थियो । अहिले पनि उनले चिकित्सा पेशासँगै साहित्यलाई समेत सँगसँगै लगेका छन् ।
यसअघिनै २ पुस्तक बजारमा
उनले यसअघि २ वटा पुस्तक लेखिसकेका छन् ।
जसमा ‘खुसीहरुको वनबास’ नामक कविता संग्रह र ‘कम्मरीदेखि कोभिड कहर’ नामक निबन्ध संग्रह रहेका छन् । निबन्धशैलीमा लेखिएको ‘लय छुटेको समय’ उनको तेस्रो कृति हो । यो पुस्तक बजारमा उपलब्ध भइसकेको छ । औपचारिक विमोचन हुन समेत बाँकी रहेको यस पुस्तकको अहिले नै बजारमा निकै चर्चा छ ।
‘कम्मरीदेखि कोभिड कहर’ के हो ?
यसअघिनै प्रकाशित डा. पौडेलको स्वास्थ्य सम्बन्धी बहुउपयोगी पुस्तक हो ‘कम्मरीदेखि कोभिड कहर’ ।
कुल ३१ वटा लेख रहेको सो पुस्तकमा २१ वटा हाडजोर्नीसँग सम्बन्धित विषयवस्तु रहेको उनले जानकारी दिए । अन्य १० वटा लेख भने अन्य समसामयिक स्वास्थ्यसम्बन्धी रहेको छ । त्यसमध्ये पनि अन्तिमको लेख भने कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी रहेको छ ।
निबन्धात्मक शैलीमा लेखिएको सो पुस्तक सर्वसाधारणका लागि हाडजोर्नी तथा नसासम्बन्धी जानकारीका लागि उपयोगी हुने उनको भनाइ छ । हाडजोर्नी तथा नसा सम्बन्धी समस्या भएका सर्वसाधारणले सरल भाषाको सो पुस्तकमार्फत कतिपय उपचार घरमै बसेर गर्न सकिने उनको विश्वास छ ।
को हुन प्रा.डा. कृष्णप्रसाद पौडेल ?
चितवनस्थित भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेल पेसाले चिकित्सक हुन् । अर्थोपेडिक विषयका प्राध्यापक उनी समाजशास्त्रमा पनि स्नातकोत्तर छन् । चितवनमा प्रा.डा. कृष्ण चिकित्सा क्षेत्रको निकै चिरपरिचित एवम् चर्चित नाम हो ।
उनलाई नचिन्ने सायदै कम होलान । उनी निकै जुझारू एवम् केही गरेर देखाउनुपर्छ भन्ने चिकित्सक मध्यमा पर्छन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनपश्चात् देशका विभिन्न अस्पतालहरूका साथै विदेशका अस्पतालहरूमा समेत उनले काम गरिसकेका छन् ।
देश र विदेशमा अध्ययन, तालिम र काम गर्दा बिरामीलाई गर्नुपर्ने उपचारका साथै बिरामीले बोकेर ल्याएको समाज र परिवेशमा चासो राख्ने बानीले उनको मेडिकल सोसियोलोजीमा चाख बढेको हो । यस किताबमा एउटा चिकित्सकको आँखाले बिरामी र समुदायको दृष्टिले स्वास्थ्यकर्मी र अस्पताललाई हेर्दा निस्केका कुरालाई केलाइएको छ साथै कोभिड महामारीका वस्तुस्थितिहरूको अनुभव वर्णन गरिएको छ । यसमा निबन्धशैलीमा लेखिएका बिरामी र डाक्टरका कथाहरू छन् ।
यसअघि अस्पतालको ३८ औँ मेसु बनिसकेका उनी अहिले अस्पतालको ४६ औँ मेसु समेत बन्ने अवसर पाएका छन् । उनी विसं २०७५ साल असोज ७ गतेदेखि ७६ साल जेष्ठ १ गतेसम्म करिब ८ महिना मेसु बनेका थिए । उनी सोही अस्पतालमा लामो समयदेखि कार्यरत अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् । उनी यस अस्पतालको समस्या, विकास निर्माणको अवस्था र गुरू योजनालगाएतका समग्र विषयमा निकै जानकार समेत छन् । जसले गर्दा सर्वसाधारणले उनी मेसु नियुक्ति भएपछि अस्पतालको चौतर्फी विकासको आशा व्यक्त गरेका थिए । अहिले उनीहरूले अस्पतालको चौतर्फी विकासको महसुस गरिरहेका छन् ।
यसअघि प्रा.डा. पौडेलले नेपाल चिकित्सक संघ चितवनको अध्यक्षको कार्यभार समेत कुशलता पूर्वक सम्हाल्ली सकेका छन् ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।