धौलागिरि अस्पताल : बिरामी बढे, चिकित्सक घटे
गलकोट,८ असार । बागलुङको धौलागिरि अस्पतालमा गर्मी लागेसँगै बिरामीको चाप ह्वात्तै बढेको छ । अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था छ ।
चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा बिरामीले लामो लाइन बस्नुपर्ने अवस्था छ । पछिल्लो सयम धौलागिरि अस्पतालमा सुधार भएको । अस्पतालमा टोकन प्रणाली राखिएको छ । सरसफाइमा ध्यान दिइएको छ । चिकित्सकको समस्या भने उस्तै छ ।
दरबन्दीका चिकित्सक नआउँदा करार र छात्रवृत्तिका चिकित्सकको भरमा अस्पताल चलेको छ । चिकित्सक अभावमा बिरामीले गुणस्तरीय सेवा पाउन सकेका छैनन् । अस्पतालमा दैनिक ३०० देखि ४०० बिरामी सेवा लिन आउने गरेका मेडिकल सुपरिटेन्डेन्ट डा। शैलेन्द्र विक पोखरेलले जानकारी दिए । मौसममा आएको परिवर्तनका कारण बिरामीको संख्या बढेको उनको भनाइ छ ।
छालासम्बन्धी, ज्वरो, झाडापखलालगायत बिरामी बढेका छन् । “गर्मी बढेपछि बिरामीको संख्यामा वृद्धि भएको छ,” डा। पोखरेलले भने, “अस्पतालबाट एकैपटक पाँच मेडिकल अधिकृतले छाडेर जानुभयो, सेवा दिन समस्या भइरहेको छ ।”
एक मेडिकल सुपरिटेन्डेन्टसहित १६ विशेषज्ञ र ६ मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टबाहेक अरू दरबन्दी रिक्त छ । करार र छात्रवृत्तिका चिकित्सकले सेवा दिइरहेका छन् ।
पाँच करारका मेडिकल अधिकृत, १० करार र छात्रवृत्तिका विशेषज्ञ चिकित्सक कार्यरत छन् । उनीहरूको सेवा अवधि सकिन लागेको अस्पतालले जनाएको छ ।
छात्रवृत्तिमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकले दुई वर्ष दुर्गममा सेवा गर्नुपर्ने नियमानुसार आउने गर्छन् । चिकित्सकको माग गर्दै प्रदेश र संघीय मन्त्रालय धाइरहेको पोखरेलले बताए ।
रासस