जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव



Download our app to get more features

रुकुमपूर्व, ७ असार  । रुकुमपूर्वमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । गएको वर्ष पुस महिनादेखि उक्त केन्द्रले औषधि अभावको समस्या झेल्दै आएको हो । 

औषधि अभाव भएपछि अहिले उक्त केन्द्रमा बिरामी आउनै छाडेका छन् । सुरु–सुरुमा आयुर्वेद स्वास्थ्योपचारतिर आकर्षित भएका यहाँका नागरिक पछिल्लो समय औषधि पाउन छाडेपछि उपचारबाट वञ्चित हुन पुगेका हुन् । उपचारका लागि स्वास्थ्य केन्द्रसम्म धाउनेलाई अहिले खाली हात फर्काउनुपर्ने अवस्था सिर्जना भएको केन्द्रका प्रमुख डा गनेश अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले केन्द्रमा ग्यास्टिक र रुघाखोकीको मात्र औषधि उपलब्ध छ ।

हातखुट्टा तथा जोर्नी दुख्ने समस्या भएका बिरामी सबैभन्दा धेरै आउने गरेका छन् । झन यही समस्यासम्बन्धीको औषधि गएको वर्ष पुस महिनादेखि नै नभएको डा अधिकारीले बताए । औषधि अभाव भएको लामो समयपछि अहिले खरिद प्रक्रिया अघि बढाइएको छ । डा अधिकारीका अनुसार आवश्यक पर्ने औषधिको खरिद प्रक्रिया अघि बढिसकेका कारण यही असारको अन्तिम सातासम्ममा रुकुमकोट औषधि आइपुग्ने भएको छ । साथै बिजौरीस्थित आयुर्वेद चिकित्सालयबाट पनि केही औषधि ल्याउन लागिएको छ ।

सेवा प्रवाह चलिरहेको बेलामा आयुर्वेद स्वास्थ्य केन्द्रमा हात, जोर्नी तथा नशासम्बन्धी, पायल्स, फिस्टुला, फिसरको समस्या भएका बिरामी सबैभन्दा धेरै आउने गरेका थिए । यसैगरी ग्यास्टिक, श्वासप्रस्वाससम्बन्धी समस्या, महिनावारी गडबड, छाला तथा मुखको समस्या, मधुमेह र रक्तचापका बिरामी पनि आउने गर्दछन् ।रुकुमपूर्वमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले गएको जेठ २६ गतेदेखि सेवा सुरु गरेको थियो ।

रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts