भरतपुर अस्पताल : ‘सीमित कर्मचारी–असीमित बिरामी’, भीड व्यवस्थापनमा हम्मे–हम्मे



Download our app to get more features

चितवन, २७ जेठ । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा  ‘सीमित कर्मचारी–असीमित बिरामी’ को कारण भीड व्यवस्थापनमा हम्मे–हम्मे पर्ने गरेको छ । 

जनशक्ति र‌ पूर्वाधार भन्दा बिरामीको सँख्या बढी हुँदा उपचार तथा भीड व्यवस्थापनमा समस्या देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले हाम्रो डक्टर न्यूजलाई जानकारी दिए । 

दैनिक १७ सयसम्म बिरामी

डा.पौडेलका अनुसार अहिले दैनिक ११ सयदेखि १७ सयसम्म बिरामी पुग्ने गरेका छन् । त्यसमा बिमाका बिरामीको संख्या बढी छ । विगत केहि महिनामा कुलसँख्याको ५५ प्रतिशत हाराहारी बिमाका बिरामी रहेकोमा हाल ८० प्रतिशतसम्म पुगेको छ। अनलाइन टिकट सेवामा सेवाग्रहीको रुची देखिएन।‌ केहि पूर्वाधारहरु ठाउँसारीको तयारीमा छन्।

स्थानीय सरकारहरुबाट सहयोगको अपेक्षा 

मेसु प्रा.डा.पौडेलले भने– ‘सेवाग्राहीको समस्याप्रति हामी दुखित छौं।असार १ बाट आइतवारको विदा कटौती भएसँगै जनरल ओपिडी सेवा पनि बिहान ८ देखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ। संघिय सरकारबाट जनशक्ती थप नभइसकेको अवस्थामा चितवनका स्थानीय सरकारहरुबाट पनि भरतपुर अस्पतालको समस्या बुझि सहयोग गरिदिए बिरामीहरूकै पिरबेथा बुझे सरह  हुने थियो। नागरिक समाजहरुले पनि स्थानीय सरकारहरुलाई भरतपुर अस्पतालसँग यो विषयममा जोडिदिए राम्रो हुने थियो। आधारभुत स्वास्थ्य सेवा सबै नागरीकको अधिकार भएसँगै यसको विशिष्टिकरण पनि हामी सबैको साझा कर्तव्य हो।’

केन्द्रीय अस्पतालमा स्तरोन्नति, जनशक्ति भने अभाव

नेपाल सरकार मन्त्रीपरिषदको मिति विसं २०७५ चैत ३ गतेको निर्णयअनुसार विशिष्ट विशेषज्ञ अस्पतालमा स्तरोन्नति गरी सङ्घीय सरकार अन्तर्गत हालसम्मको अवधिमा कुनै थप जनशक्ति एवं दरवन्दी प्राप्त हुन नसक्दा अस्पतालमा विस्तार गरिएका सेवाहरू सहज रूपमा प्रवाह गर्न सकिएको छैन । अहिले अस्पतालको अधिकांश विभाग/वार्ड/शाखा/इकाईहरूमा न्यून जनशक्तिले कार्य गर्नु परेको छ  । 

अस्पतालको क्षमता बढी, कर्मचारी कम

नेपाल सरकार मन्त्री परिषद्को मिति विसं २०६७ कार्तिक ८ गतेको निर्णयबाट ३ सय शैया स्वीकृत प्राप्त तथा अस्पताल विकास समितिबाट ३ सय शैया थप गरी हाल यस अस्पताल ६ सय शैया क्षमतामा सञ्चालित छ । यस अस्पतालमा नेपाल सरकारको दरबन्दी सङ्ख्या भने जम्मा १ सय ७५ मात्र रहेको छ । जुन अस्पतालमा सञ्चालित शैया क्षमताको तुलनामा अत्यन्तै न्यून हो । 

केन्द्रीय अस्पतालमा स्थायी कर्मचारी १ सय ६२ जना मात्रै

हाल अस्पतालमा नेपाल सरकारबाट स्थायी कर्मचारी १ सय ६२ जना मात्रै छ । त्यस्तै नेपाल सरकार अन्तर्गत करारमा ८ जना, छात्रवृत्ति तर्फ २९ जना, आमा सुरक्षा कार्यक्रम अन्तर्गत १६ जना, पोषण गृह कार्यक्रम अन्तर्गत ९ जना र अन्य कार्यक्रम अन्तर्गत २ जना गरी जम्मा २ सय २६ जना कर्मचारी कार्यरत छन् । जसमा नेपाल सरकारको दरबन्दी सङ्ख्या भने जम्मा १ सय ७५ मात्रै छ ।

विकास समितिको भरमा अस्पताल  

यस अस्पतालमा अधिकांश कर्मचारी अस्पताल विकास समिति अन्तर्गत छन् । त्यसमा पनि अधिकांश करारमा छन् ।

विकास समिति अन्तर्गत स्थायी ६२ जना, अस्थायी २ जना, करार ३ सय १ जना, दैनिक ज्यालादारी ६५ जना र नर्सिङ कलेजतर्फ करारमा कार्यरत कर्मचारी १७ जना गरी जम्मा ४ सय ४८ जना कर्मचारी कार्यरत छन् । अस्थायी समेत गरी विकास समितिबाट दरवन्दी स्वीकृत ४ सय ५० छ ।

सेवा परामर्श तर्फ १ सय ३५ जना कार्यरत

हाल अस्पतालको सेवा परामर्श तर्फ सामाजिक सेवा एकाइ सहजकर्ता १२ जना, सुरक्षाकर्मी २४ जना र सरसफाइकर्मी ९९ जना गरी जम्मा १ सय ३५ जना कर्मचारी कार्यरत छन् ।

नेपाल सरकारतर्फ स्वीकृत दरबन्दीहरू पुनरावलोकन गरी आवश्यक प्रक्रिया अघि बढेको अस्पतालले जनाएको छ । जसमा आगामी ५ वर्षभित्र हाल कायम रहेको १ सय ७५ दरबन्दीलाई बढाइँ १ हजार ३ सय २३ दरबन्दी प्रस्ताव गरी स्वीकृतिका लागि मन्त्रालयसमक्ष पेश गरिएको अस्पतालले जनाएको छ ।

भीड व्यवस्थापनमा अस्पतालको प्रयास

ओपिडी टिकट बिहान ७ बजेदेखिनै खुला

अस्पतालले जेठ ९ गतेदेखि ओपिडी टिकट बिहान ७ बजेदेखिनै खुला गरेको छ । 

अस्पतालमा ओपिडी जाँच गर्न आउँने बिरामीको चाप बढ्न थालेपछि भीड व्यवस्थापन गर्न ओपिडी टिकट काउन्टर बिहान ७ बजेदेखिनै खुला गरिएको अस्पतालका मेसु  प्रा. डा.पौडेलले जानकारी दिए । त्यसअघि बिहान ८ बजेदेखि खुल्ने गरेकोमा बिरामीको चापलाई ध्यान दिएर सो व्यवस्था गरिएको उनले बताए । 

त्यस्तै, मध्याह्न १२ बजेसम्म खुल्ने गरेकोमा आधा घण्टा थप गरी टिकड काउन्टर १२ः ३० बजेसम्म खुल्ने व्यवस्था गरिएको छ । यो सोमबार देखि शुक्रबारसम्म बिदाको दिन बाहेक लागू गरिएको हो । अस्पतालले आइतवार सार्वजनिक विदाको दिन पनि निजी अस्पतालको तुलनामा कम शुल्कमा बिहान ९ः३० देखि दिउँसो १ बजेसम्म बिरामीलाई ओपिडी जँचाउने व्यवस्था मिलाएको थियो । 

सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय भने अहिले फिर्ता लिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार बिदा दिने निर्णय फिर्ता लिएको हो । जेठ १ गतेदेखि लागु हुने गरी सरकारले परीक्षणको लागि भन्दै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो । तर, एक महिना पनि कार्यान्वयन नहुँदै निर्णय फिर्ता भएको हो । मन्त्रिपरिषद निर्णयले असार १ देखि आइतबार साप्ताहिक बिदा नदिने निर्णय गरेको हो । दुइ दिन लगातार सार्वजनिक बिदा हुँदा अस्पताललाई सोमबार ओपिडी जाँच गर्न आउँने बिरामीको भीड व्यवस्थापनमा हम्मे–हम्मे पर्ने गरेको थियो ।

१५ शैयाबाट शुरु भइ हाल छ सय शैयामा सञ्चालित

१५ शैयाबाट शुरु भएको यो अस्पताल वि।स २०६७ सालमा ४ सय १५ शैया हुँदै हाल छ सय शैयामा सञ्चालित छ । नेपालको मध्य भागमा रहेको चितवन जिल्लामा अवस्थित यस अस्पतालमा विशिष्ट एवं अति विशिष्ट सेवाहरू प्रदान गर्ने नेपाल सरकारको यस क्षेत्रकै विश्वासिलो अस्पताल रही आएको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा बिकास गर्ने योजना 

यस अस्पतालले आफ्नो ३१ विगाहा जमिनमा व्यवस्थित पूर्वाधार निर्माण गरि नेपाल कै एक नमुना केन्द्रिय अस्पतालको रुपमा विकास गर्न सकिने सम्भावना बोकेको छ । 

सिटि स्क्यान, एमआरआई, क्याथल्याव लगायतका आधुनिक उपकरणहरु जडान गरि सबै प्रकारका सेवाहरुलाई प्रभावकारी बनाउने, ढल, फोहरमैला आदीको वैज्ञानिक तरिकाले व्यवस्थापन गरि सफा अस्पताल बनाईने योजना रहेको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बताए ।  

अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा बिकास गर्न तथा भविष्यमा अस्पतालको सम्भावनाको अध्ययन गरि रणनैतिक योजना बनाई आम नागरिकको लागि गुणस्तरीय सेवा प्रदान गर्दै भरपर्दो अस्पतालको रुपमा विकास गर्न अस्पताल विकास समिति लागि परेको अध्यक्ष डा. अधिकारीले बताए ।

आफ्नै कोरोना प्रयोगशाला 

यसै अस्पताल मातहत रहेको कोरोना परीक्षण प्रयोगशाला भरतपर–१० स्थित वाईपास रोडमा रहेको राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा सञ्चालनमा रहेको थियो । भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको स्वामित्वमा रहने गरी प्रयोगशाला हाल अस्पताल भवनमै सञ्चालनमा ल्याइएको छ । 

स्वास्थ्य केन्द्रबाट शुरू

यस अस्पतालको स्थापना वि.स २०१३ सालमा राप्ती दुन उपत्यका विकास समिति र अमेरीकी सरकारको संयुक्त प्रयासमा सामान्य स्वास्थ्य केन्द्रबाट शुरू भएको पाईन्छ । पछि गएर वि।स २०२० सालमा महेन्द्र आर्दश चिकित्सालयको रुपमा नामकरण भएको थियो । 

कहिले बन्यो भरतपुर अस्पताल ?

विसं २०६२/०६३ को ऐतिहासिक जन आन्दोलनपछि यस अस्पतालको नाम महेन्द्र आदर्श चिकित्सालयबाट परिवर्तन भई भरतपुर अस्पताल रहन गएको हो । वि. स २०३९ सालमा अस्पताल विकास तथा सहयोग समिति गठनसंगै अस्पतालमा स्थानिय र समुदायको संलग्नता बढेको देखिन्छ । 

विशिष्ट विशेषज्ञ सेवा सहितको केन्द्रीय अस्पताल

नेपालको मध्य भागमा रहेको चितवन जिल्लामा अवस्थित भरतपुर अस्पताल बिशिष्ट एवं अति विशिष्ट सेवाहरू प्रदान गर्ने नेपाल सरकारको यस क्षेत्रकै विश्वासिलो अस्पताल रही आएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७५ चैत ३ गतेको निर्णयानुसार यस अस्पताललाई विशिष्ट विशेषज्ञ अस्पतालमा स्तरोन्नती गरी संघीय सरकार अन्तर्गत राखिएको छ । यो अहिले केन्द्रीय अस्पताल बनेको छ । 

मध्य नेपालको आशाको केन्द्र, भीडको पिडा 

नेपालको मध्यभागमा अवस्थित यस अस्पतालमा चितवनसहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, वारा, तनहुँ, लम्जुङ, रुपन्देही सहितका १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् । तर, बिरामीको चाप बढी रहने यस अस्पतालमा सीमित कर्मचारी र व्यवस्थित पूर्वधारको अभावमा घन्टौं लाईनमा बस्नु पर्ने तीतो यथार्थ सबै सामु छर्लङ्ग छ । यद्यपि यस समस्याको समाधान तर्फ सरोकारवाला निकायको खासै ध्यान पुगेको देखिएको छैन । अस्पतालको सेवा सुविधा तथा उपचारलाई थप प्रभावकारी बनाउन सबै सरोकारवाला निकायको ध्यान पुग्नु जरूरी देखिन्छ ।

Last modified on 2022-06-12 07:40:16

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts