५ देखि १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप लगाइने, यस्तो छ सरकारको तयारी



Download our app to get more features

काठमाडौं, २५ जेठ । सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ । 

सरकारले देशभरका झन्डै ३९ लाख बालबालिकालाई दुई चरणमा गरी कोरोनाविरुद्धको फाइजर खोप दिइने बताएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले पहिलो चरणमा देशभरका २७ जिल्ला र दोस्रो चरणमा बाँकी ५० जिल्लाका ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई खोप लगाइने बताउनुभयो ।

उहाँले अमेरिका सरकारले उपलब्ध गराउने यो खोप कोभ्याक्स सुविधामार्फत् गाभीको समन्वयमा नेपाल ल्याउन लागिएको पनि उल्लेख गर्नुभयो ।

उहाँका अनुसार पहिलो चरण अन्तर्गत २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र सोही उमेर समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा लगाइने छ । यस्तै दोस्रो चरणमा बाँकी रहेका ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही उमेर समूहलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप लगाइने छ ।
 
खोप अभियान विद्यालय तहमै सञ्चालन हुने भएकाले सबै अभिभावकले मातहतका विद्यालयमा आफ्ना ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई खोप लगाउन पनि उहाँले आग्रह गर्नुभयो ।

पहिलो चरणमा काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, कास्की, बागलुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप अभियान सञ्चालन हुनेछ ।

Last modified on 2022-06-09 16:00:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts