४ वर्षदेखि भवन नबन्दा सेतीलाई सेवा दिन असहज



Download our app to get more features

धनगढी २१ जेठ । सेती प्रादेशिक अस्पतालमा सङ्घीय सरकारको २१ करोड लगानीमा निर्माणाधिन भवन साढे चार वर्षदेखि अधुरै रहेको छ।

२०७६ मा निर्माण सम्पन्न गर्ने गरी ०७४ को कात्तिकमा निर्माण सम्झौता भएको उक्त भवन अहिलेसम्म पनि अधुरै रहेको हो। 

समयमा संरचना तयार नहुँदा अस्पताललाई भने समस्या भइरहेको छ। अहिले भवन अभावको समस्या देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

‘बिरामीको संख्या बढेको छ। हामीसँग संरचनाको अभाव छ। त्यो भवनको निर्माण कार्य सकिएपछि केही सहज हुने आस छ,’ उनले भने। 

मातृ तथा नवजात शिशु भवनका नामले निर्माण हुन लागेको उक्त भवनको ७० प्रतिशत काम सकिएको दाबी आयोजना कार्यालयको छ। तर, संरचना निर्माणको जिम्मा पाएको रवीना थेगिम जेभीले भने अझै एक वर्ष म्याद थप गर्न आग्रह गरेको छ। यता आयोजना कार्यालय भने ६ महिना मात्रै म्याद थप गर्न सिफारिस गरेको जनाएको छ। 

उक्त थप भएको म्याद पनि आउने असोजसम्मको मात्रै छ। सोही अवधिसम्म निर्माणको काम सकिने दाबी सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका प्रमुख प्रविन शाहको छ।

‘असोजसम्म निर्माण कम्पनीले काम गर्ने पर्छ,’ उनले भने, ‘त्यो समयसम्म पनि निर्माणको काम नसकिएपछि कारबाही हुन्छ।’

सेती प्रादेशिक अस्पतालमा अहिले प्रसुति सेवा लिनेको संख्या बढेको छ। दैनिक ४० बढी सेवाग्राहीहरुले प्रसूति सेवा लिने गरेका छन्। त्यसकारण पनि उक्त भवन निर्माणको कामलाई समयमा सम्पन्न गर्नुपर्ने थियो। तर उक्त भवन निर्माणका लागि तीनपटक म्याद थप भइसकेको छ।

निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै लापरबाही गरिरहेको छ। अहिले थप भएको समयमा पनि काम सम्पन्न नभएको निर्माण कम्पनीलाई कारबाही गर्ने चेतावनी आयोजना कार्यालयको छ। 

उक्त भवन निर्माणको काम सम्पन्न भए सेती अस्पतालको पूरानो भवनमा रहेका प्रसूति, नवजात शिशु, शल्यक्रिया कक्ष लगायतका सबै सेवा नयाँ भवनबाट दिने अस्पतालको योजना छ। नयाँ भवनमा एकीकृत रुपमा नवजात शिशु, प्रसुति उपचार, शल्यक्रिया कक्ष, ल्याब, एक्सरे, इमर्जेन्सी र बहीरङ्ग सेवा सञ्चालन गरिने बताइएको छ।

Last modified on 2022-06-05 10:42:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts