देशभर थपिए १४ नयाँ सङ्क्रमित, सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय १
काठमाडौं, १९ जेठ । देशभर थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा २ हजार ५ सय ९५ कोरोना परीक्षण गर्दा थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा १ हजार ४ सय १३ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ११ जना र १ हजार १ सय ८२ एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९ लाख ७९ हजार १ सय ६३ पुगेको छ भने एन्टिजेन विधिबाट १ लाख ४० हजार २ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ८ जना स्वस्थ भएका छन् भने २४ घन्टामा मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।
हालसम्म नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ९ लाख ६७ हजार १ सय १० पुगेको छ भने ११ हजार ९ सय ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय १ रहेको छ ।