सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि आ-आफ्नो ठाउँबाट लाग्ने प्रतिवद्धता



Download our app to get more features

काठमाडौं,१६ जेठ । सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि सरोकारवाला निकायले आ आफ्नो ठाउँबाट लाग्ने प्रतिवद्धता गरेका छन् । 

विश्व सूर्तिजन्य पदार्थ रहित दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ललितपुर महानगरपालिका, द युनियन, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी भएका सरोकारवाला निकायहरु प्रतिवद्धता गरेका हुन् । 

कार्यक्रमका प्रमुख अतिथी रहेका ललितपुर महानगरपालिकाका प्रमुख (मेयर) चिरीबाबु महर्जनले सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि बजेट छुट्याइने प्रतिवद्धता व्यक्त गरे । 

उनले हाल ललितपुरको चार वटा क्षेत्रलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरिएको पनि बताए । पाटन दरबार स्क्वायर, जावलाखेलको पार्क, लगनखेल र महानगरको क्षेत्र पुल्चोकलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरिएको उनको भनाई छ । 

त्यस्तै उनले  नगर प्रहरी र जनप्रतिनिधि सहित सूर्तिजन्य पदार्थ सेवन नगरिदिन आग्रह सहित ललितपुर महानगरपालिका भित्रका घर–घरमा पुग्ने पनि बताए । 

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले घर–घरमा पुग्ने अभियान भोलिदेखि नै सुरु हुने जानकारी दिए । यसका लागि ५ जना नगर प्रहरी खटाएको पनि उनले बताए । ललितपुर महानगरपालिकालाई धूम्रपान रहित क्षेत्र बनाउन आफु प्रतिवद्ध रहेको उनले बताए ।

त्यस्तै ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले १५ दिनभित्र विद्यालय छेउछाउमा सूर्तिजन्य पदार्थ बेच्न नदिने बताए । उनले कानूनले भनेका कुरा कार्यान्वयन गर्ने बताउँदै  विद्यालय आसपासमा सूर्तिजन्य पदार्थको बिक्रि वितरण रोक्ने बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्न आफु प्रतिवद्ध रहेको बताइन् ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिराज शर्माले ७ सय ५३ वटै स्थानीय निकासँग नसर्ने रोगको नियन्त्रणका कार्यक्रम गर्न समन्वय गरिएको बताए । भीमदत्त नगरपालिका, बारा निजगढ नगरपालिका, बर्दिया नगरपालिका लगायतका प्रमुख, प्रशासकीय अधिकृतसँग छलफल समेत गरिएको उनले जानकारी दिए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि प्रहरी र सम्बन्धित निकायलाई खटाइने बताए ।

कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले खिल्ली चुरोटको बिक्रि वितरण र प्रयोगमा रोक लगाउन आग्रह गरेका छन् । खिल्ली चुरोटको बिक्रि वितरणमा रोक लगाए मात्र किशोरकिशोरीलाई यसबाट केहीसम्म बचाउन सकिने उनले बताए । 

कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य प्रशासक भक्तबहादुर केसीले र क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागाईंले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । 

Last modified on 2022-05-31 08:23:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts