गेटा मेडिकल कलेजलाई सरकारले बेवास्ता गरेको भन्दै विरोध, अत्तरियामा चक्काजाम
धनगढी,११ जेठ । सञ्चालनको पर्खाइमा रहेको कैलालीको गेटा मेडिकल कलेजलाई सरकारले वेवास्ता गरेको भन्दै विरोध सुरु भएको छ । २०७३/०७४ सालबाट निर्माण थालिएकोमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिदा पनि सञ्चालनमा वेवास्ता गरिएको भन्दै विरोध सुरु भएको हो ।
गेटा मेडिकल कलेज सञ्चालनका लागि गठित संघर्ष समितिले दबाब कार्यक्रमको थालनी गरेको छ । सरकारको नीति तथा कार्यक्रममा सञ्चालनका लागि आधारभूत संरचना तयारी अवस्थामा रहेको गेटा मेडिकल कलेज नअटाएपछि दबाबमूलक कार्यक्रम थालनी गरिएको हो।
आज (बुधबार) संघर्ष समिति र युवाहरुको समूहले दबाबस्वरुप अत्तरियामा चक्काजाम गरेको छ। उनीहरुले करिब एक घण्टा चक्काजाम जारी रहने बताएका छन् । सञ्चालनको पर्खाइमा रहेको गेटा मेडिकल कलेजलाई सरकारले वेवास्ता गरिएको उनीहरुको भनाइ छ। निर्माण गरिएका संरचना अलपत्र हुनेगरि सरकारले वेवास्ता गरेकाले दबाब थालिएको उनीहरुले जनाएका छन् ।
यस्तै हिजो (मंगलबार) सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजलाई नसमेटेको भन्दै धनगढीका युवा यमराज जोशीले आज ९बुधबार० विरोध प्रदर्शन गरेका छन् । सरकारले डडेल्धुरामा मेडिकल कलेज बनाउने भन्दै गेटालाई वेवास्ता गरेकोले आफूले रचनात्मक विरोध प्रर्दशन गरेको जोशी बताए ।
उनले करिव १ घण्टा एकल प्रदर्शन गरेका हुन्। सरकारले गेटा मेडिकल कलेजलाई सञ्चालन गर्न पहल गर्नुपर्ने उनको माग छ।