'सेभ द हार्ट'ले मनायो दशौं वार्षिकोत्वस, १० वर्षमा झण्डै १ लाखले पाए सेवा



Download our app to get more features

काठमाडौं, २४ बैशाख । मुटुरोगको जनचेतना, रोकथाम र उपचारका क्षेत्रमा क्रियाशिल गैरनाफामूलक संस्था सेभ द हार्टले आफ्नो स्थापनाको एक दशक पार गरेको छ । 

स्थापना दिवसको अवसरमा संस्थाले दशौं वार्षिकोत्सव कार्यक्रमको आयोजना गरि आफ्ना उपलब्धिहरुका बारेमा जानकारी दिएको छ । राजधानीमा शनिवार आयोजित कार्यक्रममा संस्थाको अध्यक्ष एवं मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले संस्थाले विगत दशवर्षमा देशभरका ९९ हजार व्यक्तिलाई स्वास्थ्य शिविरमार्फत सेवा दिएको बताए । यस अवधिमा संस्थाको पहलमा देशभरका २३ जिल्लामा ९६ वटा स्वास्थ्य शिविर आयोजना भएको छ भने १ हजार ३ सय ३६ जना शल्यक्रिया आवश्यक भएका बिरामी पहिचान गरेको छ । सेभ द हार्टको सहयोगमा यसबीचमा ५ सय ४७ जनाले निःशुल्क मुटुको शल्यक्रिया गराएका छन् भने एकजना बिरामीलाई इटालीमा पठाएर संस्थाले निःशुल्क शल्यक्रियाको व्यवस्था गराएको छ । संस्थाको आयोजनामा नेपालको पूर्व ताप्लेजुंगदेखि पश्चिमको डोटी लगायत सातै प्रदेशका जिल्लाहरुमा स्वास्थ्य शिविर र सचेतनाका कार्यक्रम सम्पन्न भएको संस्थाका अध्यक्ष डा. भट्टराईले जानकारी दिए । 

दशौं वार्षिकोत्सव समारोहका अवसरमा राष्ट्यि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संस्थाले दशवर्षमा गरेका कामहरुको प्रशंसा गरे । गैरसरकारी क्षेत्रबाट मुटु स्वास्थ्य सचेतना र विपन्न नागरिकको उपचारमा भएका कामले राज्यलाई ठूलो सहयोग भएको तिमिल्सिनाको भनाइ छ । कोभिड महामारीपछि स्वास्थ्य क्षेत्रमा राज्यको लगानी बढेको भन्दै तिमिल्सिनाले सरकारी, गैरसरकारी र निजी क्षेत्रको सहकार्यबाट स्वास्थ्य क्षेत्रमा प्रगति गर्न सकिने धारणा राखे । 

त्यस्तै कार्यक्रममा पूर्व सांसद कृष्णप्रसाद भट्टराईले सेभ द हार्टले गरेको कार्यको प्रशंसा गर्दै मुटुरोगका बारेमा व्यक्ति आफै सचेत भई त्यसको रोकथाम र सचेतनामा क्रियाशिल हुनुपर्ने धारणा राखे । कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले राज्यका तर्फबाट नसर्ने रोगको रोकथाम र सचेतनाका क्षेत्रमा लगानी बढेको भएपनि त्यो यथेष्ट र प्रभावकारी हुननसकेको तर्फ ध्यानाकर्षण गराए । नेपालमा ओपन हार्ट सर्जरी सुरु भएको २५ वर्ष पुगेको स्मरण गर्दै डा. कोइरालाले नेपालले पनि मुटुरोग उपचारमा ठूलो फ्ड्को मारेको बताए ।  

सेभ द हार्टको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले आफ्नो अस्पतालले पनि संस्थासँगको सहकार्यमा विपन्न, गरिब र दूरदराजका मुटुरोगीको निःशुल्क र सहुलियत उपचारमा योगदान गर्न पाएको बताए । सो अवसरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, प्रकाशराज रेग्मीले मुटुरोगको रोकथाम र उपचारमा संस्थाले पुर्याएको योगदानको कदर गर्दै मुटुरोगका क्षेत्रमा भइरहेका प्रगति र गतिविधिहरुका बारेमा चर्चा गरे । 

कार्यक्रममा सेभ द हार्ट संस्थासँग साझेदारी गरेको इटालीको मिसन बम्बिनीका प्रतिनिधिहरु डा. स्टेफेनो म्यारियान्स्ची, बेन्देता इयोफ्रिडा र मारिया टोरेलीले विभिन्न १० देशमा आफ्नो संस्थाले मुटुरोगका क्षेत्रमा काम गरेको भन्दै नेपालमा पनि उत्कृष्ट सहकार्य र काम गरेको बताए । 

वार्षिकोत्सवका अवसरमा संस्थाले आफ्ना कार्यमा सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाहरुलाई कदरपत्र पनि वितरण गरेको छ । 
 

Last modified on 2022-05-08 14:13:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts