निर्वाचनमा मतदान केन्द्रमै कोरोनाविरुद्धको खोप लगाइने, खोप लगाउन छुटेकाले पनि लगाउन सक्ने



Download our app to get more features

काठमाडौँ, २२ वैशाख । सरकारले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खोप नलगाएकै कारण मतदान गर्नबाट बञ्चिन नहुने बताएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप नलगाएकै कारण मतदान गर्नबाट बञ्चित नगरिने प्रष्ट पारेको छ । 

मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले कोरोनाविरुद्धको खोप कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउनका लागि भएकाले खोप लगाएको राम्रो र नलगाएको भए लगाउनुपर्ने बताए । तर, खोप कार्ड देखाएर मात्रै भोट खसाल्न पाउने व्यवस्था हालसम्म लागू नभएको पनि उनले प्रष्ट पारे ।

डा.अधिकारीले मतदाता नामावलीमा नाम भएका तर, कोरोनाविरुद्धको खोप नलगाएकै कारण कसैलाई पनि मतदान गर्ने अधिकारबाट बञ्चित नगरिने पनि बताए । साथै मतदान गर्न जाँदा खोप कार्ड अनिवार्य नरहने पनि उनले प्रष्ट पारे ।

यसैबीच, मन्त्रालयले स्थानीय तहको निर्वाचनको दिन मतदान स्थलमै कोरोनाविरुद्धको खोप लगाउने तयारी गरिरहेको छ ।

मन्त्रालयले मतदान केन्द्र नजिक नै खोप केन्द्र स्थापना गरी कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका अनुसार वैशाख ३० गते मतदान केन्द्रनजिक खोप केन्द्र स्थापना गरी खोप लगाउन छुटेकालाई कोरोनाविरुद्धको खोप लगाउने गरी तयारी भइरहेको छ । 

मतदान गरिसकेपछि १८ वर्षभन्दा माथिका पहिलो, दोस्रो र बुस्टर मात्रा लगाउन सकिने छ । यस्तै खोप लगाउन छुटेका र बुस्टर डोज लगाउन बाँकी रहेकालाई मतदान गर्न जाँदा खोप कार्ड लिएर जानसमेत अनुरोध गरिएको छ ।

कोरोना महामारीको जोखिम कायमै रहेको हुँदा जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने पनि मन्त्रालयले आग्रह गरेको छ ।

Last modified on 2022-05-06 15:52:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts