धनगढीको विरङ्ग हेल्थ केयरको दादागिरी, डायलासिस सेवा प्रभावित



Download our app to get more features

धनगढी,१९ वैशाख ।  कञ्चनपुरको भीमदत्त नगरपालिकाकी हरिप्रीया जोशीका श्रीमान मृगौला पीडित हुन्। विगत ८ वर्षदेखि उनलाई मृगौलाको समस्या छ । 

पछिल्लो दुई वर्ष यता उनी धनगढीको सेती प्रादेशिक अस्पतालबाट डायलासिस गर्दै आएका छन् । धनगढीमै कोठा भाडामा लिएर डायलासिस गर्दै आएका उनी एक हप्तामा तीन पटक डायलासिस गर्दै आएका छन् । 

पछिल्लो पटक उनले आइतबार डायलासिस गर्नुपर्ने थियो । तर उक्त दिन  सेवा नै उपलब्ध नभएपछि विरामीलाई निकै समस्या भएको हरिप्रीया जोशीले बताइन् । ‘सेवा बन्द भयो । अब विरामी लगेर कता जानेरु दुखित छौं हामी,’ उनले भनिन् ।

धनगढी वडा नम्बर १ का रोशन गौतमका बुवा पनि मृगौला पीडित हुन् । उनी पनि विगत पाँच वर्षदेखि डायलासिस गर्दै आएका छन् । मृगौलाका विरामीले नियमित डायलासिस गर्न नपाए समस्या हुने गरेको छ । यति मात्रै होइन, विरामीको मृत्यु हुने जोखिम पनि उत्तिकै हुन्छ । त्यसकारण पनि डायलासिस सेवा दुई दिन प्रभावित भएपछि विरामीका आफन्तहरु आत्तिएको रोशन गौतमले बताए । ‘मृगौलाका विरामीको डायलासिस नभएपछि मृत्यु हुने खतरा बढी हुन्छ,’ उनले भने, ‘यो त सेवा प्रभावित गरेर मानव स्वास्थ्यमाथि खेलवाड गर्ने काम भइरहेको छ।’

सेती प्रादेशिक अस्पताल र विरङ्ग हेल्थ केयरबीच भएको सम्झौता अनुसार उक्त डायलासिस सेवा सुरु भएको थियो । अहिले १० वटा मेशिनमार्फत उक्त सेवा प्रदान भइरहेको छ । एक हप्तामा ८० जनाभन्दा बढी मृगौलाका विरामीले त्यहाँबाट सेवा लिँदै आएका छन् । 

तर पछिल्लो ५ महिनादेखि १२ जना कर्मचारीले तलब नपाएको भन्दै सेवा बन्द गरेको डायलासिस सेवाकी नर्सिङ इन्चार्ज सिर्जना बुढामगरले बताइन् । ‘४ देखि ५ महिना भयो । तलब नै नपाएको अवस्था छ । तलब नपाउँदा पनि काम गर्दै आएका थियौं । हामी पनि काम गरेर खाने मान्छे हो । कतिपय कर्मचारीहरु भाडामा बस्दै आएका छन्’ उनले भनिन्, ‘अहिले आइतबार र सोमबार सेवा बन्द गरेका छौं। यसको कारण तलब नपाउँनु नै हो । हामी अब तलबबीना काम गर्न सक्ने स्थितिमा छैनौं,’ 

कर्मचारीलाई तलब उपलब्ध गराउने जिम्मा काठमाडौंको विरङ्ग हेल्थ केयर नामक संस्थाको हो । उक्त संस्थाले १२ जना कर्मचारीलाई ५ महिनासम्म तलब दिन सकेको छैन । जसका कारण सेवा प्रभावित भएको भएको छ भने, विरामीको बिचल्ली भएको छ । 

तर विरङ्ग हेल्थ केयर काठमाडौंका लेखाका कर्मचारी राजिव शाक्यले सेवा बन्द नभएको दाबी गरे । ‘तलब किन उपलब्ध भएन भन्ने आन्तरिक कुरा हो । त्यो तपाइलाई भन्न आवश्यक छैन,’ उनले भने, ‘सेवा बन्द भएको छैन । हिजो बिदा थियो । आज सेवा उपलब्ध छ ।’

आफ्नै कर्मचारीलाई ५ महिनासम्म तलब दिन नसक्ने विरङ्ग हेल्थ केयरले मानव स्वास्थ्यमाथि पनि खेलवाड गरेको आरोप लागेको छ । तर सेती प्रादेशिक अस्पताल यसबारे मौन छ ।

Last modified on 2022-05-03 12:31:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts