नेपाल स्वास्थ्य रणनीति आगामी साउनदेखि लागू गर्ने सरकारको तयारी
काठमाडौं,१९ वैशाख । सरकारले नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०७९–२०८९ निर्माण गर्दै छ । त्यसका लागि अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न सरोकारवाला निकायहरुसँग छलफल गरिरहेको छ ।
सोमबार पत्रकारसँग जोखिम सञ्चार तथा स्वास्थ्य क्षेत्र रणनीतिक योजना तयारी सम्बन्धि छलफल तथा पृष्ठपोषण कार्यक्रममा मन्त्रालयका नीति योजना तथा अनुगमन शाखाका प्रमुख डा.कृष्ण पौडेलले रणनीतिक योजनाका बारेमा विभिन्न सरोकारवाला निकायहरुसँग छलफल गरिरहेको पृष्ठपोषण लिइरहेको बताएका छन् ।
पौडेलले पत्रकारसँग सोमबारको छलफल पनि प्रारम्भिक भएको र छलफलबाट आएको पृष्ठपोषणलाई रणनीतिक योजनामा समावेश गराउने बताए ।
अहिलेसम्म तयार भएको मस्यौदालाई प्रस्तुत गर्दै पौडेलले उक्तm मस्यौदालाई विभिन्न चरणमा छलफल गर्ने बताए । स्वास्थ्य रणनीति तयार गर्न विभिन्न विज्ञ, संघसस्था र सेवाग्राहीसँग सुझाव संकलन गरिरहेको छ । गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउने उद्देश्यका साथ रणनीति तयार पारिरहेको पौडेलले बताए । उनका अनुसार हाल रणनीतिको मस्यौदा तयारी भइरहेको हो ।
“अहिले हामी सुझाव सङ्कलनको चरणमा रहेका छौँ”, पौडेलले भने, “पूर्वस्वास्थ्यमन्त्री र स्वास्थ्य तथा शिक्षा समितिमा पनि रणनीतिकाबारेमा छलफल गर्नेछौँ ।” यस्तै सङ्घीय संरचनाअनुरुप सबै स्वास्थ्य प्रणालीलाई उत्थानशील, उत्तरदायी र जवाफदेही बनाइने, स्वास्थ्य क्षेत्रको उपयोग गर्दा नागरिकमा पर्ने खर्च जोखिम कम गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा समातामूलक र सहज पहुँच सुनिश्चित गर्ने, जनसंख्या, बसाइँसराइ र बढ्दो शहरीकरण व्यवस्थापन गर्ने रणनीतिका उद्देश्य रहेका छन् ।
सरकारले नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना यहि श्रावणदेखि लागू हुनेगरी तयारी गरिरहेको उनको भनाई थियो ।