मनमोहन सेन्टरले मनायो १३ वार्षिकोत्सव



Download our app to get more features

काठमाडौं, १४ बैशाख । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले आफ्नो स्थापनाको १३ औं वार्षिकोत्सव मनाएको छ । 

मनमोहन सेन्टर नामले समेत परिचित अस्पतालले वार्षिकोत्सवको अवसरमा आफ्नो नवनिर्मित एनेक्स भवनबाट समेत सेवा विस्तार गरेको जनाएको छ । वार्षिकोत्सव कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले अस्पतालले नयाँ एनेक्स भवन बनाएर सेवा विस्तार गरेका लगायत उपलब्धिहरु सार्वजनिक गरे । 

कार्यक्रममा त्रिभूवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले नेपालमा अन्य शिक्षाको तुलनामा मेडिकलको उच्च शिक्षाको क्षेत्रले फड्को मारेको बताए । अन्य दक्षिण एशियाली देशहरुको तुलनामा नेपालमा उच्च शिक्षाको क्षेत्रमा कम लगानी गरेकोमा भने डा. बास्कोटाले चिन्ता व्यक्त गरे । उनले भने, 'दक्षिण एशियाका अन्य देशमा उच्च शिक्षामा उच्च लगानी छ । तर नेपालमा भने शिक्षा बजेटको १० प्रतिशतमात्र खर्च हुन्छ । जसले गर्दा सोचेजति उच्च शिक्षाका क्षेत्रमा प्रगति गर्न सकिएको छैन ।' 

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले मनमोहन सेन्टरको सेवा, सुविधा र उपलब्धतालाई विस्तार गर्दै मध्यम र विपन्न जनतामासम्म पहुँच पुर्याउनुपर्ने बताए । त्यस्तै, शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले मनमोहन सेन्टर र शिक्षण अस्पताल एकअर्काको परिपुरक रहेको बताए । कतिपय सेवा सुविधाका लागि मनमोहन र शिक्षण अस्पतालबीच सहकार्य गर्नैपर्ने अवस्था रहेको उनको भनाइ छ ।

कार्यक्रममा सेन्टरका पूर्वनिर्देशक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले मनमोहन सेन्टर बनाउन ठूलो संघर्ष गरेको स्मरण गर्दै अस्पतालले १३ औं वार्षिकोत्सव मनाउँदै गर्दा अस्पताल खोल्न सघाउने सबैजनालाई धन्यवाद दिए । सेन्टरले वार्षिकोत्सवका अवसरमा अन्तरविभागीय फुटसल प्रतियोगितमा विजेता बनेका कर्मचारीहरुलाई पदक र सम्मान वितरण गरेको थियो । 

स्वर्गीय प्रधानमन्त्री मनमोहन अधिकारीको स्मरणमा विसं २०६६ सालमा स्थापना गरिएको सेन्टरमा मुटु तथा फोक्सोको विशेषज्ञ उपचार सेवा उपलब्ध छ ।  

Last modified on 2022-04-28 10:22:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts