स्वास्थ्यलाई आधारभुत मानव अधिकारको रुपमा संविधानमै उल्लेख गरेकोमा डा. टेड्रोसको बधाई
काठमाडौँ, १० वैशाख । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हनोम घेब्रेयसस आज फर्किदै छन् ।
२ दिने भ्रमणका लागि बिहीवार काठमाडौँ आइपुगेका महानिर्देशक डा. टेड्रोस र दक्षिण–पूर्वी एसिया क्षेत्रका लागि क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटघाट गरेका छन् ।
भेटमा राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्र सुधारका लागि बहुपक्षीय साझेदारीमा जोड दिइन् । स्वास्थ्यलाई आधारभूत मानव अधिकारको रुपमा संविधानमै उल्लेख गरेकोमा डा. टेड्रोसले बधाई दिए ।
यस्तै प्रधानमन्त्री देउवासँगको भेटमा डा. टेड्रोसले नेपालको समग्र कोभिड–१९ महामारी प्रतिकार्य र स्वास्थ्यमा विश्वव्यापी पहुँच प्राप्तिका लागि गरेको प्रयासको प्रशंसा गरे ।
स्वास्थ्य क्षेत्रलाई राष्ट्रिय बजेटमा प्राथमिकताका साथ राखेकोमा नेपाललाई बधाई दिदैँ डा. सिंहले यस्ता लगानीले ठोस प्रतिफल दिएको उल्लेख गरिन् ।
प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारी प्रतिकार्यमा लिएको नेतृत्वका लागि धन्यवाद दिँदै, स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गर्न, पाठेघरको मुखको क्यान्सर उन्मुलन गर्न तथा नेपालमा एचपिभि खोप ल्याउन थप सहयोग गर्नका लागि विश्व स्वास्थ्य सङ्गठनलाई अनुरोध गरे ।
विश्व स्वास्थ्य सङ्गठनको प्रतिनिधिमण्डलले काठमाडौंस्थित एक विद्यालयमा जारी टाइफाइड कन्जुगेट खोप अभियानको अवलोकन पनि गरर्यो ।
गाभी खोप सञ्जाल, विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको सहयोगमा अप्रिल ७ बाट सुरु भएको खोप अभियानले १५ महिनादेखि १५ वर्षसम्मका ७५ लाख बालबालिकामा खोप पु¥याउने लक्ष्य राखेको छ ।
प्रतिनिधिमण्डलले स्वास्थ्य सेवा विभाग अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रहेको जिनोम सिक्वेन्सिङ प्रयोगशालाको पनि अवलोकन गरेको थियो ।
जिनोम सिक्वेन्सिङ प्रयोगशालाले देशभित्रै उच्च जोखिममा रहेका जनस्वास्थ्य सम्बन्धी रोगहरू तत्कालै पहिचान गर्न मद्दत गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अवस्थित यस प्रयोगशालाको मद्धतमा नेपालले ओमिक्रोन भेरियन्टको पहिलो केस पत्ता लगाएको थियो ।
महानिर्देशकले डा.टेड्रोसले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र स्वास्थ्य सेवा विभागका नेतृत्वलाई यो उपलब्धिका लागि बधाई दिए ।
प्रतिनिधिमण्डलले नेपाल भ्रमणको क्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँग पनि शिष्टाचार भेट गरेको थियो ।
आफ्नो भ्रमण सकेर टोली आज फर्किने कार्यक्रम रहेको छ ।