छिमेकी देशहरुमा कोरोना संक्रमणदर बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको अनुरोध
 
            काठमाडौं,८ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय छिमेकी देशहरुमा कोरोना संक्रमण बढिरहेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ।
मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा संख्यात्मक रूपमा संक्रमण केहि कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै रहेको जनाइएको छ ।
कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिँदै यस विरुद्धको खोप अभियान संचालन गरिरहेको मन्त्रालयले जनाएको छ।
'कोभिड १९ को संक्रमणदर भारत लगाएतका छिमेकी राष्ट्रहरूमा पछिल्ला केहि दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा संक्रमणको जोखिम कायमनै रहेकोले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनि जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु' विज्ञप्तिमा भनिएको छ।

 
                
                
 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                