आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
 
            काठमाडौँ, ७ वैशाख । आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।
मंगलवारबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिएको कार्यक्रम आजसम्म जारी रहने छ ।
सरकारले भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि नजिकैको खोप केन्द्रमा गएर खान आग्रह गरेको छ ।
६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ का साथै जुकाको औषधि खुवाइँदै छ ।
वितरण केन्द्रमा जाँदा कोभिड–१९ विरुद्धका सबै जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।
सबै वडामा केन्द्र तोकेर तथा स्वास्थ्य स्वयंसेविकाले घरदैलो कार्यक्रम गरी भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइरहेका छन् ।
मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा पोषण शाखाका अनुसार देशभरका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजारभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ । 
 
                
                
 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                