कोरोना महामारीको अनुभव आदानप्रदान गर्न प्रयोगशालाहरूको 'पोस्टर वाक'
काठमाडौं,५ वैशाख । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना महामारीको अनुभव आदानप्रदान गर्न प्रयोगशालाहरुको पोस्टर वाल्क कार्यक्रम गरेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङले कोरोना महामारीको सुरुवातमा पीसीआर परिक्षणको लागी स्वाब बिदेश पठाएको कुरा सम्झदै अहिले नेपालमा नै एक सय भन्दा बढी प्रयोगशालाहरुले पीसीआर गर्नु उपलब्धि भएको बताए । उनले कोरोना मात्र नभएर जुनसुकै महामारी जतिबेला पनि आउने हुँदा तयारी अवस्थामा बस्न आवश्यक रहेको बताए ।
त्यस्तै स्वास्थ्य सेवा विभागका निर्देशक दिपेन्द्र रमण सिंहले कोरोना महामारीमा प्रयोगशालाहरुले गरेको कामलाई भुल्न नहुँने बताए । उनले महामारीमा प्रयोगशालाहरुले दिनरात नभनी गरेको कामहरु सर्हानीय रहेको बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झाले कोरोना महामारीमा प्रयोगशालाहरुले भोगेको कठिनाइ,चुनौति तथा अनुभव गरेको सवल पक्ष,उत्प्रेरणादायी घटना र भविष्यमा आउन सक्ने महामारीलाई अझै सशक्त्त रुपमा जुध्नका लागि उक्त कार्यक्रमको आयोजना गरेको बताईन ।
कार्यक्रममा देशैभरीका ८० भन्दा बढी सरकारी तथा निजी प्रयोगशालाहरुको सहभागीता रहेको थियो । प्रयोगशालाहरुले कोरोना महामारीको समयमा पीसीआर परीक्षण साथै उक्त समयमा व्यहोर्नु परेको समस्याहरुको बारेमा प्रस्तुति दिएका थिए ।