थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि, २४ घन्टामा ४१ हजारभन्दा बढीले लगाए खोप
काठमाडौं, २९ चैत । देशभर थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ४ हजार ७८ कोरोना परीक्षण गरिएको छ । जसमा आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा २३ जना र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ७८ हजार ६ सय १६ र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार १ सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको छ।
गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप ३७ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।
हालसम्म कोरोनाका कारण सङ्क्रमित भएका मध्य निको हुनेको सङ्ख्या ९ लाख ६६ हजार १ सय ११ पुगेको छ भने ११ हजार ९ सय ५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप ४१ हजार ४ सय ७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ५४ रहेको छ ।