धनगढीको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट ११ लाखको मेशिन हरायो
 
            धनगढी, २८ चैत। कैलालीको धनगढीमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट ११ लाख रुपैयाँको मेशिन हराएको छ ।
संघीय सरकार मातहतको उक्त प्रयोगशालालाई प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षको पशुपन्छी तथा मत्स्य रोग सर्भेन्स रिर्पोटिङ कार्यक्रम अन्तर्गत ११ लाख १८ हजार रुपैयाँमा खरिद गरेर वाटर क्वालिटी टेस्टिङ (पानीको शुद्धता मापन गर्ने) मेशिन दिएको थियो ।
उक्त मेशिनसहित प्रयोगशालालाई प्राप्त ५ ओटा मेशिन जडान समेत भएको थियो। तर ती मध्ये वाटर क्वालिटी टेस्टिङ मेशिन हाल प्रयोगशालामा छैन ।
पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख भएर आएका डा.नारायणप्रसाद घिमिरेले वाटर क्वालिटी टेस्टिङ मेशिन कार्यालयमा नभेटिएको पुष्टि गरेका छन् ।
उनका अनुसार तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु चिकित्सक डा.नन्दकिशोर यादवले २५ माघ २०७७ मा लेखी पठाएको पत्रमा अन्य चार वटा उपकरणसहित वाटर क्वालिटी टेस्टिङ मेसिन पनि जडान भएको उल्लेख छ ।
उक्त विषयमा अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी नै परेको खुलेको छ ।
गत फागुन ४ गते अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई पत्राचार गरेर आवश्यक कागजपत्र समेत मागेको छ ।
आयोगले सरकारी सम्पत्ती हिनामीना गरिएको भन्दै परेको उजुरीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।
यता भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले भने प्रयोगशालाबाट हराएको वाटर क्वालिटी टेस्टिङ मेसिनको खोजी भइरहेको जनाएको छ।
मन्त्रालयबाट पठाइएका उपकरण जडान भएको भनेर प्रयोगशालाले जानकारी गराएको तर, अहिले एउटा मेशिन हराएको मन्त्रालयका प्रवक्ता गोकुलप्रसाद बोहराले बताए । तर, स्रोतले भने कर्मचारीहरुकै मिलेमतोमा मेशिन बिक्रि गरिएको दाबी गरेको छ।

 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                