चैत मसान्त भित्र लक्षित जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप लगाउन सकिएला ?
 
            काठमाडौं, २८ चैत । अबको दुई दिनभित्र लक्षित जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको अभियान पूरा नहुने देखिएको छ ।
गत वर्षको माघ १४ गतेबाट सुरु भएको कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत सरकारले चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल जनसङ्ख्याको लक्षित समूह अर्थात् १८ वर्ष भन्दा माथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य लिएको थियो । तर, चैत मसान्त सकिन अब २ दिन मात्रै बाँकी रहँदा सरकारको लक्ष्य पूरा नहुने देखिएको छ ।
तर, खोप अभियान सोचे अनुसारले अघि बढ्न नसकेको देखिन्छ ।
सरकारको आइतवारसम्मको खोप सम्बन्धी तथ्याङ्क हेर्ने हो भने नेपालमा हालसम्म १८ वर्ष माथिका ८२ प्रतिशतले मात्रै पूर्ण मात्रा खोप लगाएका छन् ।
एक मात्रा खोप लगाउनेको सङ्ख्या १ करोड ८६ लाख ७७ हजार ३ सय १० रहेको छ । यो ९३ प्रतिशत हो भने १ करोड ६५ लाख १७ हजार १ सय १६ जनाले पूर्ण मात्रा लगाएका छन् । यो ८२ प्रतिशत रहेको छ ।
सरकारले खोप अभियान सुरु भएपछि अहिलेसम्म कुल जनसङ्ख्याको २ करोड ९१ लख ९२ हजार ४ सय ८० जनालाई खोप लगाइएको छ । हालसम्म ४ करोड ३ लाख मात्रा खोप लगाएको छ । जसमध्ये १ करोड ८८ लाखले एक मात्रा, १ करोड ९२ लाखले दोस्रो मात्रा र २३ लाखले अतिरिक्त अर्थात् बुस्टर मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ । अहिलेसम्म ४ करोड ७८ लाख मात्रा खोप नेपाल आइपुगेको छ ।
सरकारले खोप अभियानलाई प्रभावकारी बनाउन भन्दै पछिल्लो समय खोप र खोप अभियान पनि चलाउँदै आएको छ । तर, मानिसहरूले अझै खोप लगाउन नमान्दा चुनौती देखिएको सरकारले नै बताएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले सरकारले चैत मसान्तसम्म १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाइसक्ने लक्ष्य लिएपनि अबको दुई दिनभित्र त्यो सम्भव नहुने बताए ।
उनले मानिसहरूले समयमै खोप नलगाइ दिँदा खोप पनि खेर जाने अवस्था उत्पन्न हुन थालेको भन्दै यदि यस्तै अवस्था रहने हो भने नयाँ आउन सक्ने कोरोनाको भेरिएन्टले खोप नलगाउनेलाई जोखिम हुन सक्ने बताए ।
खोप लगाउनका लागि सरकारले विभिन्न सूचना, प्रचार प्रसार गरिरहे पनि मानिसहरूको वेवास्ताका कारण समस्या हुन थालेको उनको भनाइ छ ।
 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                