स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको आठौँ शिखर सम्मेलनको औपचारिक उद्घाटन आज



Download our app to get more features

काठमाडौं, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको आठौँ शिखर सम्मेलन सुरु भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापना दिवसको अवसर पारेर सुरु भएको सम्मेलनमा देश तथा विदेशबाट स्वास्थ्य वैज्ञानिकहरूले सहभागिता जनाइरहेका छन् ।

बबरमहलस्थित कार्की व्याङ्क्वेटमा आगामी भोलिसम्म चल्ने सम्मेलनको नारा ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवद्र्धन ः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने तय गरिएको छ ।

परिषदका कार्यकारी सदस्य सचिव डा.प्रदीप ज्ञवालीले औपचारिक उद्घाटन समारोह आजका लागि तय गरिएको बताए ।

उनले सम्मेलनमा स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसङ्ख्याविद् र नीति निर्माणकर्तालाई एकै ठाउँमा ल्याई नीतिनिर्माण गर्न तथा बढ्दै गएको जनस्वास्थ्यका विषयमा भएका अनुसन्धानलाई एकीकृत ढङ्गले अघि बढाउने बताए ।

सम्मेलनको पहिलो दिन आज पूर्व–सम्मेलन गरिने छ । जसमा सङ्घीय संरचनामा स्वास्थ्य प्रणालीको सुदृढीकरण र कोभिड–१९, दृढ प्रादेशिक तथा स्थानीय स्वास्थ्य प्रणाली, रोगको भार, प्रादेशिक तथा स्थानीय स्वास्थ्य सेवा, शासन र नेतृत्वको अवस्थाजस्ता विषयमा प्रस्तुतीकरण र छलफल हुने जनाइएको छ ।

प्रस्तुतकर्तामध्येबाट एक–एक जनालाई उत्कृष्ट प्रस्तुतीकरण र उत्कृष्ट पोष्टर प्रस्तुतीकरण अवार्ड प्रदान गरिनेछ । यस्तै बायोमेडिकल जनरलमा विगत पाँच वर्षमा सबैभन्दा बढी लेख प्रकाशित गर्ने एक नेपाली अनुसन्धानकर्तालाई उत्कृष्ट कृति पुरस्कार प्रदान गरिनेछ ।

साथै उत्कृष्ट स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कारलगायत स्वास्थ्य क्षेत्रमा वैज्ञानिक अनुसन्धान कार्यान्वयन र आविष्कारमा महत्वपूर्ण योगदान पुर्याउने ६० वर्ष पुगेका नेपाली वैज्ञानिकलाई स्वास्थ्य अनुसन्धान लाइफ टाइम एचिभमेन्ड अवार्डद्वारा सम्मानित गरिनेछ ।

तीन दिने शिखर सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यासँग सम्बन्धित स्वास्थ्य प्रणाली तथा नीति, जनस्वास्थ्य, कोभिड –१९ महामारी, क्लिनिकल अनुसन्धान, एक स्वास्थ्य एवम विश्वव्यापी स्वास्थ्य, बायोमेडिकल र ट्रान्सलेसन अनुसन्धान विषयमा अनुसन्धानकर्ताहरूले आफ्नो खोज तथा अनुसन्धानका बारेमा १ सय ५३ वटा अनुसन्धान मूलक कार्यहरू परिषदमा पेश गरेको र तीमध्ये १ सय १२ मौखिक प्रस्तुतीकरणका लागि र ४१ वटा पोष्टर प्रस्तुतीकरणका लागि प्राप्त भएको परिषदले जनाएको छ ।

Last modified on 2022-04-13 16:55:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts