टाइफाइडविरुद्धको खोप अभियान आजदेखि सुरु,७५ लाख बालबालिकामा पुग्ने सरकारको लक्ष्य



Download our app to get more features

काठमाडौं,२५ चैत । टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान आजदेखि सुरु हुँदैछ । सरकारले १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागेको हो । 

वैशाख १८ गतेसम्म चल्ने अभियानको बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।  सरकारले १५ महिनादेखि १५ वर्ष उमेरसम्मका ७५ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य राखेको छ ।

टाइफाइड विरुद्धको खोप नेपालमा पहिलो पटक बालबालिकालाई दिन लागिएको हो । सो अभियान पश्चात नियमित खोपका रुपमा १५ महिना पुगेका बालबालिका लागि प्रयोग गरिने छ । यो सँगै नेपालमा बालबालिकालाई दिइने नियमित खोपको संख्या १३ पुग्नेछ ।

अभियानका क्रममा टाइफाइड खोप स्थानीय तहका प्रत्येक वडामा तोकिएका विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुनेछ । विद्यालय नभएका वा कम भएका वडाहरूमा आवश्यकता अनुसार बाह्य खोप केन्द्र संचालन गरिनेछ । अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप सेवा संचालन गरिनेछ ।

टाइफाइड खोपबाट यो रोगको संक्रमणमा उल्लेखनीय रुपमा कमी ल्याउन सकिने पुष्टि गरेकाले राष्ट्रिय खोप सल्लाहकार समितिबाट १४ अगष्ट, २०२० मा टाइफाइड खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरिएको थियो ।

विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगको लागि सिफारिस गरेको छ । 

खोप लगाएपछि कस्ता असर देखिन सक्छन् ?

टाइफाइड खोप लगाएपछि अन्य खोपहरुमा जस्तै केही सामान्य (सूई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नी दुख्ने आदि) असर हुनसक्छन् र यस्ता सामान्य असरहरु विस्तारै आफैं ठीक भएर जान्छन् ।

खोप लगाएपश्चात यस्ता लक्षणबाहेक अन्य स्वास्थ्य जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।

यो खोप विगतमा कुनै खोप लिँदा प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा दिनुहुँदैन । साथै उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा दिनुहुँदैन, तर बिरामी ठीक भइसकेपछि यो खोप लिन सकिन्छ ।

तर साधारण बिरामी भएको अवस्था जस्तै, हल्का ज्वरो आएको, रुघाखोकी लागेको, कुपोषण भएको अवस्थामा यो खोप लगाउन मिल्छ ।


 

Last modified on 2022-04-08 15:04:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts