आज ७४ औँ विश्व स्वास्थ्य दिवस मनाइँदै, वायु प्रदूषणको प्रभाव कम गर्नमा सरकारको जोड
 
            काठमाडौँ, २४ चैत । आज ७४ औँ विश्व स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ मूल नाराका साथ मनाउन लागिएको विश्व स्वास्थ्य दिवसमा विभिन्न कार्याक्रमको आयोजना गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा बर्सेनि वायु प्रदूषणका कारण ३७ हजारभन्दा बढीको मृत्यु हुने गरेकाले वायु प्रदूषको प्रभाव कम गर्नमा जोड दिएको छ ।
जलवायु परिवर्तनको बढ्दो र विनाशकारी प्रभावका कारण मानिसको स्वास्थ्य र जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको भन्दै मन्त्रालयले वातावरणीय स्वास्थ्य र मानिसको स्वास्थ्य अलग रहन नसक्ने बताएको छ ।
मन्त्रालयका अनुसार विश्वमा १० मध्ये नौ जना प्रदूषित हावामा श्वास फेर्छन् र यसका कारण हरेक वर्ष ७० लाख मानिसको मृत्यु ुहने गरेको छ भने विश्वमा दुई अर्ब मानिस सुरक्षित पिउने पानी र ३ दशमलव ६ अर्ब मानिस सुरक्षित सरसफाइको अभावमा रहेका छन् । प्रत्येक वर्ष प्रदूषित पानी र उचित सरसफाइको अभावका कारण हुने झाडापखाला रोगबाट आठ लाख २९ हजार मानिसको मृत्यु हुने गरेको छ ।
मन्त्रालयले स्वास्थ्य सेवा संस्थामा स्वच्छ पानी र सरसफाइमा पहुँच सुनिश्चित गर्न आवश्यक सेवामा लगानी बढाउन जरुरी रहेको बताएको छ ।
मन्त्रालयले जलवायु परिवर्तनबाट मानिसको स्वास्थ्यमा पर्ने असरलाई सम्बोधन गर्नका लागि विभिन्न कदम चालेको छ । मन्त्रालयले राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना कार्यान्वयन गरेको छ । जुन स्वास्थ्य क्षेत्रको जोखिम र अनुकूलन मूल्याङ्कनका आधारमा परिमार्जनको चरणमा रहेको जनाइएको छ ।
सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रतिवद्धता अनुसार जलवायु परिवर्तन, वायुको गुणस्तर, रसायनिक सुरक्षा, सरसफाई जस्ता उदीयमान वातावरणीय स्वास्थ्यसँग सम्बन्धित दिगो विकासका लक्ष्यहरू सन २०३० सम्ममा हासिल गर्न प्रतिवद्ध रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                