जुम्लामा ४२ हजार बढी बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइँदै



Download our app to get more features

जुम्ला ,१६ चैत। जुम्लाका ४२ हजार ४ सय २० बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ ।

यही चैत २५ देखि आगामी वैशाख ७ गतेसम्म जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

उनले यहाँका आठवटै स्थानीय तहका १९ महिनादेखि माथि र १५ वर्षमुनिका ती बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने उनले बताए ।

खोपबाट बचाउन सकिने रोगहरुलाई शून्यमा झार्ने सरकारको लक्ष्यअनुसार जुम्लामा बढ्दो टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गर्न थालिएको हो ।

पूर्ण खोपको सुनिश्चितता गर्न, खोप कभरेज ९५ प्रतिशत पुर्‍याउने जिल्लामा अभियानकै रुपमा खोप दिन थालिएको छ ।

टाइफाइड दूषित पानी र खानेकुराबाटै सङ्क्रमण हुने रोग हो । चैत(वैशाखमा धुलोधुवाँ बढ्ने, गर्मीले खानेकुरा पनि सफा नहुने भएकाले रोग फैलिने जोखिम हुन्छ ।

बेलैमा सचेत रहन तथा टाइफाइडबाट बालबालिकालाई बचाउनका लागि खोप अभियान चलाउने तयारी गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार खोपबाट कोही बालबालिका नछुट्ने गरी गाउँ तथा विद्यालयमा १ सय ९१ को खोप टोली परिचालन गरिनेछ ।

जिल्लामा आव २०७५-७६ मा ९ सय ७८, आव २०७६-७७ मा १ हजार १ सय ५८, आव २०७७-७८ मा ८ सय ७९ र चालु आवको आठ महिनामा ५ सय ९२ जना गरी चार वर्षमा जिल्लाका ३ हजार ५ सय ९७ नागरिक टाइफाइडका बिरामी रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts