काठमाडौंको नेशनल बाथरोग सेन्टरको शाखा आजदेखि भरतपुरमा पनि शुभारम्भ
चितवन, ११ चैत । राजधानीको रातोपुलस्थित नेशनल बाथरोग सेन्टरको शाखा आजदेखि भरतपुरमा सञ्चालनमा आएको छ ।
भरतपुर मेट्रो क्लिनिक अन्तर्गत रहनेगरी भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठीमा सेन्टरले आफ्नो शाखा सञ्चालनमा ल्याएको शाखा प्रबन्धक डिमा पाण्डेले जानकारी दिइन् ।
मध्य नेपालको भरतपुरमा शाखा सञ्चालनमा ल्याएको यस सेन्टरले बाथरोग उपचारको लागि अब राजधानी धाउन नपर्ने विश्वास प्रबन्धक पाण्डेको छ । सेन्टरले रोगीलाई सहज रूपमा उपचार गराउने उद्देश्यले शाखा स्थापना गरेको उनले बताईन्।
देशका मुख्य शहरहरुमा शाखा विस्तार गर्ने योजना सहित अघि बढेको सेन्टरले भरतपुरमा शाखा सञ्चालनमा ल्याएको उद्घाटन समारोहका सभापति समेत रहेका सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले बताए । दिन प्रतिदिन बाथ रोगका बिरामी बढ्दो दरमा देखिएको भन्दै उनले त्यसतर्फ सचेत रहन सबैलाई आग्रह समेत गरे ।
सेन्टरका बाथरोग विशेषज्ञ डा. विनित वैद्यसहितको चिकित्सक टोलीले बाथरोग उपचार गर्ने भरतपुर डा. महेश पौडेलले जानकारी दिए । चितवनमा बाथरोगलाई केन्द्रित गरेर सञ्चालन भएको यो पहिलो बाथरोग केन्द्र हो ।
शुक्रवार एक कार्यक्रमका बीच नेपाली कांग्रेस चितवनका जिल्ला सभापति राजेश्वर खनालले शाखाको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै सभापति खनालले अब चितवनबासीले बाथरोगको उपचार गर्न राजधानी धाई रहन नपर्ने विश्वास व्यक्त गरे । उनले गुणस्तरी र सर्वसुलभ सेवा दिन सेन्टरलाई आग्रह समेत गरे ।
कार्यक्रममा बोल्दै भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले मेडिकल सिटी भरतपुरमा बाथरोग सेन्टर सञ्चालनमा आएकोमा आफुलाई खुसी लागेको बताए । यहाँ सेवा लिन आउने सेवाग्राहीलाई नियमित रूपमा गुणस्तरीय विशेषज्ञ सेवा उपलब्ध गराउन समेत उनले आग्रह गरे । कार्यक्रम भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु)प्रा.डा. कृष्णप्रसाद पौडेल, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. अनिलबिक्रम कार्की, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.मनोज कंडेल लगाएतको उपस्थिति रहेको थियो ।
हाल काठमाडौंको रातोपुलसँगै ललितपुरको जावलाखेल, भक्तपुर, बुटवल, झापा, दाङ एवम् पोखरामा समेत बाथरोग सेन्टरको शाखा विस्तार भैसकेकोमा चितवनमा आफ्नो सातौँ शाखा विस्तार गरेको हो । सेन्टरले बाथरोग उपचारसँगै यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्वास्थ्यकर्मीहरुलाई तालिम, प्रविधि तथा प्राविधिक क्षमता वृद्धि, वाथरोग सचेतना अभियान, बाथरोगको समुदायमा आधारित अनुसन्धान कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । त्यस्तै, सेन्टरले देशका विभिन्न भागमा निःशुल्क बाथ रोगको स्वास्थ्य शिविर समेत सञ्चालन गर्ने गरेको छ ।
बाथ रोग शरीरमा रोगसँग लड्न सक्ने ‘इम्युन सिस्टम’ अर्थात् रोग प्रतिरोधात्मक क्षमतामा गडबडी आएपछि उत्पन्न हुने एक प्रकारको रोग हो । शरीरले रोगसँग लड्ने रसायनहरु निकाल्दा त्यसले जब शरीरका विभिन्न जोर्नीहरुमा असर पु¥याउँछ, त्यही हानीले पु¥याउने रोग नै बाथरोग हो ।
सामान्यतया बाथरोगको मुख्य लक्षण जोर्नी दुख्ने हो । जोर्नी दुख्नेसँगै केहीमा जोर्नी सुन्निने, रातो हुने जस्ता समस्या समेत हुन सक्छ । जोर्नीबाहेक शरीरका अन्य भागहरुमा समेत बाथरोग हुने चिकित्सक बताउछन् । कुन अङ्गमा बाथरोग लाग्छ, त्यस अनुसार लक्षण समेत फरक–फरक हुने उनीहरूको भनाइ छ ।
बाथरोग के हो ?
बाथरोग एक प्रकारको अटोइम्युन डिजिज हो । अटोइम्युन डिजिज भन्नाले हाम्रो शरीरको रोग निरोधक शक्तिले जब आफ्नो शरीरको अंगमा असर गर्न थाल्छ, त्यस बेला अटोइम्युन डिजिज सुरु हुन्छ जसको फलस्वरूप मुख्यतः शरीरका जोर्नीहरू दुख्ने वा सुन्निनेजस्ता, लक्षण देखिन थाल्छ र क्रमशः अन्य अंगहरूमा पनि असर गर्दछ ।
बाथरोग सय भन्दा बढी प्रकारका हुन्छन् । बाथरोगको लक्षण बाथले असर गरेको अङ्ग अनुसार फरक हुन्छ । लक्षण र कुन प्रकारको एन्टिबडी रगतमा देखिन्छ, त्यसको आधारमा यस रोगको वर्गीकरण गरिन्छ । तसर्थ यस रोगको नियन्त्रणका लागि लक्षण एवम् कुन एन्टिबडीको संलग्नताको आधारमा रोगको वर्गीकरण र मूल्यांकन गरी उपचार विधि अपनाउनु जरूरी हुन्छ।
बाथरोगका लक्षणहरू
१.हातका औंलाहरु दुख्ने वा सुन्निने ।
२. बिहान उठ्ने बेला हात, खुट्टा वा जिउ अरट्ठो
हुने ।
३.खुट्टाको बुढिऔंला वरिपरि रातो भएर टेक्न
नहुने ।
४. गोलीगाँठो दुख्न वा सुन्निने ।
५.राती तथा बिहान ढाड दुख्ने ।
६. घुँडा दुख्ने र सुन्निने ।
७.कुर्कुचा दुख्ने, (प्रायः उठ्ने बेला) ।
८.पाइताला पोल्ने वा झम्झमाउने (प्रायः राती) ।
९. पिडौंला दुख्ने वा करकर खाने ।
१०. जिउ गल्ने र छिये छिये थकान हुने ।
११. मांसपेशी कमजोर हुने ।
१२. छालामा डाबर वा निको नहुने घाउ आइरहने ।
१३. बारम्बार आँखा रातो हुने तथा दुख्ने ।
१४. चिसोमा काम गर्दा हातखुट्टा निलो हुनु ।
बाथ रोगबाट बच्ने उपाय
मेडिकल साइन्सले बाथ रोग लाग्नै नदिनेस उपाय अहिलेसम्म पत्ता लगाउन सकेको छैन। यससँग सम्बन्धित भ्याक्सिन र औषधीहरू पनि छैनन् । परिवारका कुनै सदस्यलाई बाथ रोग भएमा अन्य सदस्यहरू सतर्क रहनुपर्दछ। डेढमहिनादेखि तीन महिनाभित्र बाथ रोग भएको पत्ता लगाउने प्रयास गर्नुपर्दछ। बाथरोग भएको पत्ता लागेमा सेकेन्डरी प्रिभेन्सन अपनाई जटिलतालाई रोक्नतिर लाग्नुपर्दछ।
खानपान
धेरैजसो बाथ रोगमा खाना बार्न आवश्यक हुँदैन । तर युरिक एसिड बाथमा भने खाना बार्न आवश्यक हुन्छ । युरिक एसिड बाथमा खुट्टाको बुढी औला रातो भएर दुख्ने र सुन्निने हुन्छ। प्रोटिनयुक्त खाना जस्तै(सुकेको गेडागुडि, टमाटर, काउली, बन्दा, च्याउ, कोक, फ्यान्य, काजु, पेस्ता, खसी, राँगो, बँदेलको मासु, जाँड, रक्सी आदिले युरिक एसिंड बाथलाई बढाइदिन्छ। युरिक एसिड बाथ १ प्रतिशतलाई मात्र हुन्छ।
सावधानी
बाथको जटिलताको आधारमा सावधानी अपनाउनुपर्छ । बाथका कारण हड्डी खिइन थालेपछि भूइँमा टुक्रुक्क नबस्ने, पलेटी मारेर नबस्ने, उकालो ओरालो धेरै नगर्ने, जोर्नीलाईधेरै भारपर्ने काम गर्नुहुँदैन र जोर्नीलाई मोड्न पनि हुँदैन । चिसोमा धेरै काम नगर्ने, मनतातो पानी प्रयोग गर्ने, चुरोटको धुवाँमा नबस्ने, १० बजे अघिको घाम ताप्दा फाइदा हुन्छ।
विहानको कलिलो घाममा भिटामिन डी प्राप्त हुन्छ। नेपाल,भारत लगायत दक्षिण एसियाका देशहरूमा बस्ने व्यक्तिहरूमा भिटामिन डिको कमि धेरै देखिएको छ । भिटामिन डिले बाथसँगमात्र नभई शरीर दुख्ने, क्यान्सर, मुटुरोगसँग पनि सम्बन्ध राख्छ। भिटामिन डिको कमि हुनेहरूमा सामान्य बाथ रोग भएमा यो रोग चाँडै कडा बन्दै जान्छ । त्यसैले भिटामिन डीको प्रकृतिक स्रोत घामनै हो।
एनालजेसिक र स्टेरोइड
औषधीहरूलाई तरीका मिलाएर साइड इफेक्ट नहुने गरी निश्चित समयमा खानुपर्छ । बाथ रोगीहरूमा स्टेरोइड औषधी प्रयोग गर्दा घटाउँदै घटाउँदै डेढ २ महिनासम्म प्रयोग गरिन्छ। औषधी छुटेमा वा चिसोका कारण बाथ रोग बढेमा १०/१५ दिन ब्रिजिङ थेरापी दिनुपर्छ । यस्तो अवस्थामा स्टेरोइड एनाल्जेसिक (दुखाइ कम गर्ने औषधी) बाहेक अरू उपाय हुँदैन।
बाथ रोगको औषधी
बाथको औषधी क्यान्सरको औषधीबाट सुरु भएको हो । बाथ रोग दीर्घ रोग हो तर यसले क्यान्सरजस्तो तुरुन्त ज्यान लिँदैन । सामान्य मानिसको औषत आयुको तुलनामा बाथरोग भएकाहरूको औषत आयु १०–१५ वर्ष कम देखिन्छ । बाथ रोगले मुटु, मृगौला, मस्तिष्क लगायत शरीरका विभिन्न भित्री अंगहरूमा असर गर्ने भएकोले औसत आयु कम हुने भएको हो । बाथका कारण जोर्नी दुखेर कुनै पनि व्यक्तिको ज्यान जाँदैन ।
क्यान्सर जस्तै भित्रै भित्रै दीर्घकालीन असर गर्ने भएकोले यसको मुख्य औषधी मेथोट्रक्सेट हो । यो क्यान्सरका विरामीलाई पनि प्रयोग गरिन्छ। अहिले बाथरोगको लागि नयाँ वायोलोजिकल एजेण्ड इन्जेक्सन एवम् ट्याबलेटको रुपमा पनि उपलब्ध छ। लुपसले फोक्सो, मृगौला आदिमा पारेको असरका लागि प्रयोग गरिने साइक्लो फोस्फामाइड नामको औषधी क्यान्सरकै औषधी हो ।
प्रायः लुपसका लागि प्रयोग हुने औषधी कडा खालको हुन्छ । सही समय र तरिकामिलाएर खाएमा र ३/४ महिनाको अन्तरालमा रगत जाँच गरी औषधी सेवन गर्दा शरीरमा नकारात्मक असर परेको देखिएको छैन । त्यसैले चिकित्सकको नियमित फलोअपमा रहनुपर्दछ।
बाथरोगीका लागि सन्देश
१. बाथरोग एक खतरनाक विरामी हो । यसको सही पहिचान गर्ने र समयमा उपचार गर्न जरुरी हुन्छ। जति चाँडो उपचार सुरु गरियो त्यति नै छिटो जोर्नी बचाउन सकिन्छ।
२. बाथको उपचार लक्षण सुरु भएको २ महिनाबाट १ वर्षभित्र गरिएमा यसबाट हुने नकारात्मक असरलाई न्यूनीकरण गर्न
सकिन्छ।
सेन्टरका बाथ रोग विशेषज्ञ डा. वैद्यले यस्तो रोगहरुको समयमै उपचार गराउन सके ठूलो समस्या नहुने बताए ।
(नेशनल बाथरोग सेन्टरको सहयोगमा हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख जय पाठक (जेपी)ले तयार पारेको सामग्री)
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।