आज विश्व क्षयरोग दिवश देशभर विभिन्न कार्यक्रम गरेर मनाइदै
 
            काठमाडौं,१० चैत । आज मार्च २४ विश्व क्षयरोग दिवश मनाइदै छ । यो वर्ष क्षयरोग अन्त्यका लागी लगानी बढाऔं,जिवन बचाऔं भन्ने नाराका साथ क्षयरोग दिवश मनाउन लागिएको हो ।
विश्व क्षयरोग दिवशको अवसरमा राष्ट्रिय क्षयरोग केन्द्रले विभिन्न कार्यक्रमहरु गरेर मनाउदै छ । यो दिनमा विश्वभर क्षयारोगका कारण अकालमा मृत्यु भएका व्यक्त्तिहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्ने,हाल क्षयरोग लागेका व्यक्तिहको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने र भविष्यमा यस रोगबाट कसैले मृत्युवरण गर्न नपरोस् भनि प्रतिवद्धता जाहेर गर्न यो दिवश मनाईदै आइरहेको छ ।
विश्व स्वास्थ्य संगठनको वार्षीक प्रतिवेदन २०२० अनुसार विश्वभर करिब ९९ लाख मानिसहरु क्षयरोगबाट पिडित भएका थिए । जसमा ५५ लाख पुरुष,३३ लाख महिला र ११ लाख बालबालिकाहरु रहेका छन् । क्षयरोग नियमित उपचारले निको हुने भएपनि वार्षिक १५ लाख मानिसको मृत्यु हुने गरेको अनुमान छ ।
नेपालमा आर्थिक वर्ष २०७७/७८ को तथ्यांक अनुसार नेपालमा २८ हजार ६ सय ७७ जना बिरामीहरु मात्र उपचारको क्रममा छन् । जसमध्ये ६७ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र ७ प्रतिशत बालबालिका छन् ।
राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४/७५ ले नेपालमा वार्षिक नयाँ तथा पुराना गरी १ लाख १७ हजार क्षयरोगका बिरामी रहेको देखाएको थियो। नयाँ क्षयरोगका बिरामीहरु वार्षिक रुपमा ६९ हजार थपिन्छन् भने १६ हजार जनाको मृत्यु हुने गरेको केन्द्रले जनाएको छ।
औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या वार्षिक रुपमा २२ सय छ। आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ५ सय ६९ जनाको औषधि प्रतिरोधी पहिचान भएको थियो भने ४ सय १८ जना उपचारमा दर्ता भएका थिए।
 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                