नेपालमा हालसम्म ९३ प्रतिशतले लगाए कोरोनाविरुद्वको खोप 



Download our app to get more features

काठमाडौं,६ चैत । हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १ सय ६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो ।

यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ लाख ८४ हजार ८ सय ५८ रहेको छ । यो कूल लक्षित जनसङ्ख्याको ८१.२ प्रतिशत हो । साथै १२–१७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७ सय ८५ (९१ प्रतिशत) जनाले पहिलो मात्रा खोप लगाइसेका छन् । १८ वर्षमुनि पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या २३ लाख ११ हजार ९ सय ९८ (६७ प्रतिशत) रहेको छ ।

मन्त्रालयका अनुसार यही चैत ४ गतेसम्ममा सबै उमेर समूहमा कूल तीन करोड ९२ लाख २३ हजार ९ सय ४१ मात्रा खोप प्रदान गरिएको छ । जसमध्ये एक करोड ८६ लाख ९५ हजार ८ सय २६ पहिलो मात्रा, एक करोड ८६ लाख ९८ हजार ५ सय ९५ दोस्रो मात्रा र १८ लाख २९ हजार ५ सय २० मात्रा बुस्टर डोज प्रदान गरिएको हो ।

नेपाल सरकारले भेरोसेल, कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र जोन्सन खोप प्रदान गर्दै आएको छ । केही मात्र अनुदान सहयोग तथा अरु केही खरिद गरेर सरकारले कूल चार करोड ७८ लाख ८२ हजार ८ सय मात्रा खोप प्राप्त गरेको थियो ।

नेपालमा हाल ३ हजार ९ सय ९६ सक्रिय कोभिड सङ्क्रमित रहेका छन् । कोभिड सङ्क्रमण सुरु भएदेखि नेपालमा गरिएका कूल परीक्षणमा ११ लाख १८ हजार १ सय ८० जनालाई कोभिड पोजिटिभ देखिएको र यसमध्ये नौ लाख ६२ हजार १ सय ७३ जनाले कोभिडलाई पराजित गरेका छन् । यस सङ्क्रमणबाट ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ ।

नेपाल सरकारले २०७८ चैतसम्ममा १८ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । ‘शतप्रतिशत खोप’को लक्ष्य पूरा गर्न अब सात प्रतिशत जनसङ्ख्यालाई मात्र खोप लगाउन बाँकी रहेको छ । १८ वर्षमुनिको उमेर समूहमा पनि पूर्ण मात्राको खोप पाउन अब नौ प्रतिशत जनसङख्या मात्र बाँकी छ ।
रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts