टाइफाइडविरुद्धको खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने सरकारको तयारी



Download our app to get more features

काठमाडौं, ३ चैत । सरकारले यही चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने निर्णय गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गिता कौशल मिश्राले १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने जानकारी दिइन् । 

उनले १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई खोप अभियानमा १ मात्रा र त्यसपछि नियमित खोप कार्यक्रममा यो खोप समावेश गरिने बताइन् ।

उनले नेपालबाट टाइफाइड रोगको सङ्क्रमण र यसबाट हुने जटिलतालाई न्यूनिकरण गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वय र सहकार्यमा देशभर एकैसाथ खोप अभियान सुरु गर्न लागिएको बताइन् ।

समुदायमा टाइफाइड रोगविरुद्धको रोग प्रतिरोधात्मक क्षमता बढाउन अभियानको समयमा खोपको पहुँच ९५ प्रतिशत पुर्याउनुपर्ने भएकाले सबैलाई खोप अभियानमा लाग्न पनि सरकारले आग्रह गरेको छ ।

टाइफाइडविरुद्धको खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई तालिम पनि दिने काम भइरहेको डा.मिश्रले बताइन् ।

नेपालमा टाइफाइडविरुद्धको खोप पहिलो पटक लगाउन थालिएको हो । 
 

Last modified on 2022-03-17 09:50:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts