नेशनल बाथरोग सेन्टरको शाखा चैत ११ गतेदेखि भरतपुरमा सञ्चालनमा आउने



Download our app to get more features

चितवन, २ चैत । राजधानीको रातोपुलस्थित नेशनल बाथरोग सेन्टरको शाखा भरतपुरमा सञ्चालन हुने भएको छ । 

भरतपुर मेट्रो क्लिनिक अन्तर्गत रहनेगरी यही चैत ११ गतेदेखि भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठीमा सेन्टरले आफ्नो शाखा सञ्चालनमा ल्याउन लागेको शाखा प्रबन्धक डिमा पाण्डेले जानकारी दिइन् ।

देशका मुख्य शहरहरुमा शाखा विस्तार गर्ने योजना सहित अघि बढेको सेन्टरले भरतपुरमा शाखा सञ्चालनमा ल्याउन लागेको हो ।  

मध्य नेपालको भरतपुरमा शाखा सञ्चालनमा ल्याउन लागेको यस सेन्टरले बाथरोग उपचारको लागि अब राजधानी धाउन नपर्ने विश्वास प्रबन्धक पाण्डेको छ । सेन्टरले रोगीलाई सहज रूपमा उपचार गराउने उद्देश्यले शाखा स्थापना गरेको उनले बताईन्। 

सेन्टरका बाथरोग विशेषज्ञ डा. विनित वैद्यसहितको चिकित्सक टोलीले बाथरोग उपचार गर्ने डा. महेश पौडेलले जानकारी दिए । चितवनमा बाथरोगलाई केन्द्रित गरेर सञ्चलन हुन लागेको यो पहिलो बाथरोग केन्द्र हो ।

हाल काठमाडौंको रातोपुलसँगै ललितपुरको जावलाखेल, भक्तपुर, रातोपुल, बुटवल, झापा, दाङ एवम् पोखरामा समेत बाथरोग सेन्टरको शाखा विस्तार भैसकेको डा. पौडेलले बताए । सेन्टरले बाथरोग उपचारसँगै यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्वास्थ्यकर्मीहरुलाई तालिम, प्रविधि तथा प्राविधिक क्षमता वृद्धि, वाथरोग सचेतना अभियान, बाथरोगको समुदायमा आधारित अनुसन्धान कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । त्यस्तै, सेन्टरले देशका विभिन्न भागमा निःशुल्क बाथ रोगको स्वास्थ्य शिविर समेत सञ्चालन गर्ने गरेको छ ।

बाथ रोग शरीरमा रोगसँग लड्न सक्ने ‘इम्युन सिस्टम’ अर्थात् रोग प्रतिरोधात्मक क्षमतामा गडबडी आएपछि उत्पन्न हुने एक प्रकारको रोग हो । शरीरले रोगसँग लड्ने रसायनहरु निकाल्दा त्यसले जब शरीरका विभिन्न जोर्नीहरुमा असर पु¥याउँछ, त्यही हानीले पु¥याउने रोग नै बाथरोग हो ।

सामान्यतया बाथरोगको मुख्य लक्षण जोर्नी दुख्ने हो । जोर्नी दुख्नेसँगै केहीमा जोर्नी सुन्निने, रातो हुने जस्ता समस्या समेत हुन सक्छ । जोर्नीबाहेक शरीरका अन्य भागहरुमा समेत बाथरोग हुने चिकित्सक बताउछन् । कुन अङ्गमा बाथरोग लाग्छ, त्यस अनुसार लक्षण समेत फरक–फरक हुने उनीहरूको भनाइ छ ।

Last modified on 2022-03-16 09:16:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts