डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन
 
            डडेल्धुरा, २८ फागुन । डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न प्रारम्भिक काम अगाडि बढेको छ। नेपाल सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजको रूपमा स्तरोन्नति गर्ने निर्णय गरेसँगै प्रारम्भिक अनुगमन टोलीले शुक्रबार स्थलगत रूपमा निरीक्षण गरेको हो।
सुदूरपश्चि विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीको नेतृत्वमा सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठक, प्रशासन महाशाखा प्रमुख अशोकसिंह भण्डारीसहितको टोलीले मेडिकल कलेज स्थापनाका लागि आवश्यक जग्गा तथा वातावरणबारे जानकारी लिन डडेल्धुरा पुगेको डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए।
उनका अनुसार डडेल्धुरामा स्वास्थ्य प्रतिष्ठानका लागि केही वर्षयता अभ्यास गरिँदै आएकामा पछिल्लो समय सरकारले नै मेडिकल कलेजका लागि सैद्धान्तिक सहमतिको निर्णय गरेपछि गतिविधिहरू सञ्चालन भइरहेको छ। सात पहाडी जिल्लाको केन्द्र डडेल्धुरा रहेकाले मेडिकल कलेज अपरिहार्य रहेको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए।
परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले डडेल्धुरा मेडिकल कलेज स्थापनाका लागि आफू र आफूनिकट नेपाली कांग्रेस पार्टी सकारात्मक रूपले लागेको बताए। प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला भएका कारण सबै राजनितिक दलले सकारात्मक भूमिका खेलेमा मेडिकल कलेजको काम अगाडि बढाउन सजिलो हुने उनले बताए।
कांग्रेस नेता गोकुल शाहीले सरकारको निर्णयमा रकम नदेदिएकाले मेडिकल कलेज स्थापना नारामा सीमित रहने भन्दै जनताले शंका गरिरहेको टिप्पणी गरे। राम्रो कामको सम्मान गरिने बताउँदै शाहीले मेडिकल कलेज सञ्चालनका लागि स्पष्ट खाका तयार नभएकाले बजेटसहित काम अगाडि बढेमा मात्रै आश्वस्त हुने बताए।
नेकपा (एमाले) डडेल्धुराका सचिव गजेन्द्र शाहीले डडेल्धुरा मेडिकल कलेज चुनावी नारामा सीमित भएमा जनता ठग्ने काम हुने भएकाले सरकाले तत्काल काम कारबाही अगाडि बढाउनुपर्नेमा जोड दिए।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति जोशीले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयको विज्ञ टोली र प्रधानमन्त्री देउवासहितको बैठकबाट डडेल्धुरा मेडिकल कलेजको लागि जग्गा र अन्य प्राविधिक पाटोका विषयमा जानकारी लिनु भनेकाले टोली डडेल्धुरा पुगेको बताए।
मेडिकल कलेज स्थापनाका लागि सरकारको निर्णय स्वागतयोग्य रहेको एमालेका नेता यज्ञराज अवस्थीले बताए।
 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                