आजबाट १० जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि खुवाइँदै
सर्वसाधरणले औषधि नखाइदिँदा लक्ष्य हासिल गर्न समस्या
काठमाडौं, २८ फागुन । सरकारले आजदेखि १० जिल्लामा हात्तिपाइलेविरुद्वको औषधि खुवाउँदै छ । झापा, बारा, लमजुङ, पर्वत, बागलुङ, मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा हात्तिपाइलेविरुद्वको औषधि खुवाउन लागिएको हो ।
नेपाल सरकारले सन २००० मा २०२० सम्म नेपालमा हात्तिपाइले रोग निवारण गर्ने लक्ष्य लिएअनुरुप २००३ बाट नेपालमा हात्तिपाइलेविरुद्वको औषधि खुवाउन थलिएको हो । त्यसबेला हिमाली १२ वटा जिल्लाहरूमा हात्तिपाइलेको प्रभाव नभएको भन्दै सरकारले ६३ वटा जिल्लाहरूबाट यो अभियान सुरु गर्यो ।
२०२० सम्म नेपालमा हात्तिपाइले रोग निवारण गर्ने लक्ष्य लिएको सरकार उक्त लक्ष्यमा भने पुग्न सकेन् । स्वास्थ्य सेवा विभाग अन्तरगत ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा ६३ जिल्लाबाट सुरु गरिएको यो अभियान ५३ जिल्लामा हात्तिपाइले रोग निवारण भइसकेको छ भने बाँकी १० जिल्लामा हात्तिपाइलेको समस्या उस्तै देखिएको छ ।
हात्तिपाइले रोग निवारणको मापन कसरी गरिन्छ ?
सरकारले झापा, बारा, लमजुङ, पर्वत, बागलुङमा हात्तिपाइले रोगविरुद्ध यसअघि प्रयोग भइरहेका औषधिहरू डाइथाइलकार्बामाजिन र एमजी खुवाउँदै छ भने मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा त्यहि औषधिसँगै आइभरमेक्टिन नामक औषधि पनि खुवाउँदै छ ।
हात्तिपाइले रोगविरुद्धको औषधि पटक पटक खुवाउँदा पनि यी जिल्लाहरूमा हात्तिपाइलेका परजीविहरू उस्तै देखिएका छन् ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास भन्छन्, ‘हात्तिपाइले रोगविरुद्धको औषधि खुवाएको ५ वर्षपछि हामीले नमुना परीक्षण गर्दछौं । त्यसमा जम्मा जनसङ्ख्याको २ वा २ भन्दा बढी प्रतिशतमा हात्तिपाइलेको परजीवि भेटिएमा त्यहाँ हात्तिपाइले रोग निवारण भएको छैन् भनेर मान्ने गरिन्छ ।’
अहिले औषधि खुवाइरहेको १० जिल्लामा पनि हात्तिपाइलेको परजीवि २ प्रतिशत भन्दा बढी जनसंख्यामा देखिएकोले पुन अभियान चलाउन लागिएको दास बताउँछन् ।
१० जिल्लामा किन हुन् सकेन हात्तिपाइले रोग निवारण ?
सरकारले १० जिल्लाको १ सय १४ स्थानीय तहमा ६२ लाख ६३ हजार जनसङ्ख्यालाई हात्तिपाइले विरुद्वको औषधि खुवाउने अनुमान गरेको छ । त्यस अभियानका लागि ४ हजार ७ सय स्वास्थ्यकर्मी र ८ हजार ८ सय महिला स्वास्थ्य स्वयंसेविकाहरू परिचालन हुँदैछन् ।
अभियानका लागि सरकारले १२ करोड ९३ लाख ९ हजार बजेट विनियोजन गरेको छ । यसरी करोडौ रकम लगानी गरेर सञ्चालन भएका अभियानहरुले भने सोचे जस्तो उपलब्धी पाउन सकेको छैन् ।
१० जिल्लामा हात्तिपाइले रोग निवारण नहुनमा हाम्रो अभियान प्रभावकारी नभएर हो भन्ने प्रश्नमा दास भन्छन्, ‘अभियान प्रभावकारी नभएको भन्न मिल्दैन् । यदि अभियान प्रभावकारी नभएको भए अरु ५३ जिल्लामा पनि यसको समस्या देखिन पर्ने हो, तर छैन् । हरेक कुरामा सयमा सय नै हुन्छ भन्ने हुँदैन्, हामीले ५३ वटा जिल्लामा त लक्ष्य हासील रहेका छौं ।’
सर्वसाधरणहरूले हात्तिपाइले विरुद्वको औषधि नखाइदिँदा यी जिल्लाहरूमा लक्ष्य हासिल गर्न गाह्रो भएको दास बताउँछन् । उनी भन्छन्, ‘अभियान चल्यो सर्वसाधरणहरुले औषधि खाइदिनु भएन्,औषधि नखाएपछि कसरी लक्ष्यमा पुग्न सकिन्छ ।’
सर्वसाधरणले औषधि नखाइदिँदा अभियानमा समस्या
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा.गोकर्ण दहाल अहिले अभियान सञ्चालन हुन लागेको कपिलवस्तुमा १३ पटक हात्तिपाइले विरुद्वको औषधि खुवाएको बताउछन् ।
दहाल भन्छन्, ‘कपिलवस्तुमा हामीले हात्तिपाइले विरुद्वको औषधि १३ पटक खुवाइसक्यौं,बाँकी अन्य जिल्लाहरुमा पनि ८ देखि १२ पटक सम्म खुवाइसकेका छौं । ५ पटक खाए हुने हात्तिपाइले विरुद्वको औषधि १३ पटक सम्म खुवाउँदा नी परजीवि भेटिनु भनेको नागरिकहरुले नखाएर नै हो ।’
नागरिकहरूले औषधि सेवन नगरिदिदा अभियानले लक्ष्य हासिल गर्न नसकेको उनी बताउँछन् । सरकारले करोडौं लगानी गरेको छ,स्वास्थ्यकर्मीहरूले औषधि खानुस भन्ने हो । जबरजस्ती अहिले नै खाइहाल्नुस भन्न मिल्दैन । औषधि लिएर पनि नागरिकले खाइदिनु भएन्,दहाल भन्छन् ।
अहिलेको अभियानमा यो समस्यामा बढी जोड दिएर अगाडि बढ्ने तयारी रहेको उनले बताए ।