‘हात्तीपाईले रोग निर्मूल गर्न सबै एकजुट हुन आवश्यक’
कृष्णनगर, २७ फागुन । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको हेल्थ पोष्ट कृष्णनगरमा राष्ट्रिय हात्तीपाईले रोगविरूद्ध मुस्लिम धर्मगुरुहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षतामा भएको कार्यक्रममा फेयर मेडका परियोजना संयोजक शशी लाल कर्ण र आधारभूत स्वास्थ्य परियोजना कार्यक्रमका सामाजिक परिचालक अनेक पाण्डेयले फलेरियाको परिचय, रोगको लक्षण, रोगबाट हुने समस्या, समाधानका उपाय लगायतको बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख शाहले यो अभियान सबै मिलेर सफल पार्नुपर्ने र गर्भवती महिला तथा दुई वर्ष भन्दा कमका बाल बालिका बाहेक हरेक व्यक्तिले फलेरियाको औषधि खाने र सबैलाई यस रोगबाट बचाउने कार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा सहभागिहरूका तर्फबाट बोल्दै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले फलेरिया रोग सबै मिलेर निर्मूल गर्नुपर्ने, यहि फागुन २८ गतेबाट हात्तीपाईले रोगविरूद्धको अभियान सफल बनाउन सहभागीसँग आग्रह गर्दै आ–आफ्नो स्तरबाट सबैले यस रोगबारे सचेतना जगाउनुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, जहिर अहमद बरेलवी लगायत मुस्लिम धर्मगुरु, पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा फेयर मेडका परियोजना संयोजक शशी लाल कर्णलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।