गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा पहिलोपटक मानिसको मुटुको कृत्रिम भल्ब शल्यक्रिया बिनै राखियो



Download our app to get more features

काठमाडौं, २१ फागुन । नेपालमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्ब राखिएको छ । 

शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीया महिलाको मुटुमा कृत्रिम भल्ब राखेको हो । केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्ब साँघुरो भएपछि उक्त भल्बको स्थानमा नयाँ कृत्रिम भल्ब राखिएको बताए । 

उनले नेपालमा पहिलो पटक सफलतापूर्वक ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट महिलाको सफलतापूर्वक भल्वको प्रत्यारोपण गरिएको जानकारी दिए । 

उनले भने, ‘यसविधिअनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात् क्याथेटरद्वारा मानवनिर्मित भल्व मुटुभित्र छिराई रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिन्छ ।’

प्रत्यरोपण भएको भल्वले तुरुन्तै काम शुरुगर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसूस हुने गर्दछ । केन्द्रले ती बिरामी महिलाको सोमवार भल्ब प्रत्यारोपण गरेर शुक्रबार डिस्चार्ज गरेको हो । 

मुटुको एओर्टिक भल्व साँघुरो भएपछि मानिसमा छाती दुख्ने, बेहोस हुने र रिँगटा लाग्ने गर्दछ। उक्त एओर्टिक भल्ब बयस्क मानिसमा शल्यक्रियाद्वारा उपचार गर्न सकिन्छ भने वृद्धाअवस्थामा भने शल्यक्रिया गर्न असहज भएको भल्व नै प्रत्यारोपण गर्नुपर्ने हुन्छ । 

ती महिलाको भल्व प्रत्यारोपण केन्द्रले दुई महिनाको अथक प्रयासपछि केन्द्रले सफल भएको डा.अधिकारीले बताए । 


उनले नेपालमा नै उक्त भल्बको सफल प्रत्यरोपण गरेपछि अब भल्ब परिवर्तन गर्नका लागि भारतलगायत विदेशमा महङ्गो खर्च गरेर जान नपर्ने बताए । 

डा. अधिकारीको नेतृत्त्वमा रहेको २२ जनाको चिकित्सकसहितको टोलीले सफल भल्बको प्रत्यारोपण गरेको हो । 

Last modified on 2022-03-06 06:20:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts