भक्तपुरकाे चाँगुनारायण नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन



Download our app to get more features

भक्तपुर, १७ फागुन । भक्तपुरकाे चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । चाँगुनारायण नगरपालिका–४ हुचीलढुङ्गामा २०७७ मंसिरबाट सञ्चालनमा ल्याएको चाँगुनारायण नगर अस्पतालमा सञ्चालनमा आएको अक्सिजन प्लान्टको सोमबार नगरप्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गरेका हुन् ।

चाँगुनारायण फाउण्डेशनको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लगानीमा जडान गरिएको अक्सिजन प्लाण्टको उद्घाटनपछि बोल्दै नगरप्रमुख मिश्रले नगर अस्पतालको सेवा सुविधालाई गुणस्तरीय बनाउन नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेर लागिरहने बताए ।

चाँगुनारायण नगरपालिकाले नगर अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गर्ने निर्णय गरेर अस्पतालमा रु एक करोड ५७ लाख बराबरको अक्सिजन प्लाण्ट जडान गरी सुरु गर्न सफल भएका हाे ।‍ उनले चाँगुनारायण नगरपालिकाका बासिन्दाले अब अस्पतालमा अक्सिजन नपाएर वा शय्या नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआउने दाबी गर्दै स्वास्थ्य र शिक्षामा नगरपालिकाले धरै प्रगति गरेको चर्चा गरे ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चौलागाईँले अस्पतालमा गुणस्तरीय सेवा सञ्चालन गर्दै यसको व्यवस्थापनमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष साधुराम दाहालले अस्पतालसम्म पुग्ने सडकको स्तरोन्नति अत्यावश्यक रहेको भन्दै यसमा नगरपालिकाले चासो दिनुपर्ने बताए ।

त्यस अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं चाँगुनारायण नपा–४ का वडाध्यक्ष बुद्धिलाल महर्जनले अस्पताललाई अझ व्यवस्थित गर्दै सबै सेवाको पहुँच पुग्ने गरी विकास गर्नुपर्ने आवश्यकता रहेको बताए । फाउण्डेशनका अध्यक्ष मणिराज खत्रीले नेदरल्याण्डस्थित स्टिचिङ नेपाल नामक संस्थाको समन्वयमा प्लाण्ट स्थापना गर्न सफल भएको बताए ।

Last modified on 2022-03-02 07:36:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts