मोरङमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी
मोरङ,१६ फागुन । हात्तीपाइले विरुद्धको औषधि मोरङमा यही फागुन २८ गतेदेखि खुवाउने तयारी भएको छ । मोरङको कूल जनसङ्ख्या ११ लाख ११ हजार १४६ मध्ये १० लाख ७४ हजार ७९० जनालाई सो रोगविरुद्धको औषधि खुवाउने जनस्वास्थ्य प्रमुख सुरेश मेहताले जानकारी दिए ।
गएको वर्षमा ८३ प्रतिशत नागरिकलाई खुवाइएको सो औषधि यसवर्ष ९० प्रतिशतलाई खुवाउने अभियान तीव्र पारेको आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख मेहताले बताए । औषधि खुवाउन लगभग १४ दिनसम्म अभियान चल्ने बताइएको छ ।
औषधि नखाने व्यक्तिका कारण नियमित खाइरहने मानिसलाई थप औषधि खाइरहनु पर्ने भएको यो अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो तहबाट सहयोग गर्नु पर्ने जनस्वास्थ्य अधिकृत धरणीधर निरौलाले बताए ।
मोरङको सुनवर्षी नगरपालिकामा ३ सय मानिसलाई नमूना परीक्षण गर्दा २४ जनामा हात्तीपाइले रोगको लक्षण देखिएकाले सो क्षेत्रमा हात्तीपाइले विरुद्धको औषधि खुवाउन कुनै पनि नागरिकलाई छुट्न नदिन विशेष ध्यान दिइने प्रमुख मेहताको भनाइ छ ।
हात्तीपाइले विरुद्धको औषधि खुवाउने यस वर्ष ११ औँ चरण हो भन्दै यसमा इभरमेटिन, डिइसी र अल्बेन्डाजोल औषधि खुवाउने जनस्वास्थ्य निरीक्षक रामकुमार लामाले बताए । उनले गर्भवती महिला तथा छारे रोग भएको मानिसले यो औषधि खानु हुँदैन भने औषधि खुवाउने लक्षित समूह दुई वर्ष माथि उमेरका हुने बताए ।
रासस