इजाजतपत्र नलिई सञ्चालन भएका स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
काठमाडौं,१५ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजतपत्र नलिई सञ्चालन गरिरहेका स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यमहरुमा कतिपय स्वास्थ्य संस्थाहरुले इजाजत नलिई स्वास्थ्य संस्था सञ्चालन गरेको तथा त्यस्ता संस्थाहरुबाट स्वास्थ्य सेवा उपलब्ध गराएको भनी समाचार आएकोमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'जनस्वास्थ्य नियमावली २०७७ को नियम १२ अनुसार कसैले पनि इजाजतपत्र नलिई निजी, गैरसरकारी, सहकारी तथा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन इजाजतपत्र तथा नवीकरण सोही नियमावलीको परिच्छेद-४ तथा अनुसूची–९ बमोजिमका निकायहरुमा सम्पर्क गर्नुहुन साथै यस सम्बन्धमा अन्यथा भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही भई जाने व्यहोरा समेत यसै पत्रमार्फत जानकारी गराइन्छ।'