आज २४ औं राष्ट्रिय स्वास्थ्य सेवा दिवसः यसवर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा.कँडेललाई
काठमाडौं, १५ फागुन । यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा. जितेन्द्र कँडेलले पाएका छन् ।
२४ औं राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज डा. कँडेललाई पुरस्कृत गर्न लागेको हो ।
बेनी अस्पतालमा कार्यरत डा.कँडेललाई एक लाख राशीसहितको पुरस्कार प्रदान गर्न लागिएको हो ।
मन्त्रालयमा आज एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्यमन्त्री विरोध खतिवडाले उनलाई पुरस्कारबाट सम्मान गर्ने छन् ।
यस्तै, यसवर्षको ५० हजार राशीको स्वास्थ्य सेवा पुरस्कार बाजुरा अस्पतालमा कार्यरत अनमी धनकला थापा, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतका ल्याब टेक्निसियन निरिक्षक ओम आचार्य, प्रादेशिक अस्पताल गौरका ल्याब टेक्निसियन रामप्रवेश साह र चतरा प्राथमिक स्वास्थ्य केन्द्रका सिअहेब योगेन्द्र कट्टेललाई प्रदान गरिने छ ।
दिवसको अवसरमा १० जनालाई स्वास्थ्य सेवा सम्मान दिइने कार्यक्रम पनि रहेको छ । सम्मान पाउनेहरूमा औषधि व्यवस्था विभाग, विराटनगर शाखाका फार्मेसी अधिकृत सञ्जीव कट्टेल, जिल्ला आयुर्वेद अस्पताल रौतहटका कविराज रुद्रनारायण महतो, स्वास्थ्य सेवा विभागको बरिष्ठ फार्मासिस्ट अधिकृत बढेवाबु थापा, दर्लिङ स्वास्थ्यचौकी बागलुङकी अनमी प्रेमकुमारी केसी रहेका छन् ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अधिकृत डा. शरद चन्द्र बराल, गुल्मीको स्वास्थ्य स्वयंसेविका लिला थापा, बर्दिया स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरी, भेरी अस्पतालका नर्सिङ निरीक्षक सञ्जु रिजाल, काभ्रेको गोकुले स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट लालबहादुर रोका र खादाङ गाँउपालिका मुस्ताङको हलुका सवारी चालक गगन विक रहेका छन् ।