चितवनमा उपचार गर्न आउने बिरामीमध्ये ५० प्रतिशत रिफरका
चितवन, १२ फागुन ।स्वास्थ्य नगरी चितवनका ठूला मेडिकल कलेजमा उपचार गर्न आउने बिरामीमध्ये ५० प्रतिशत रिफर भएर आउने गरेका छन्। जिल्लाभित्र र बाहिरी जिल्लाबाट ठूलो सङ्ख्यामा बिरामी रिफर भएर आउने गरेका हुन्। आधुनिक उपकरण र विशेषज्ञ चिकित्सक पर्याप्त हुँदा उपचारका लागि रिफर भएर आउनेको सङ्ख्या बढ्दै गएको छ।
चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्साल अस्पतालमा आउने बिरामीमध्ये ५० प्रतिशत अन्य अस्पतालबाट रिफर भएर आउने गरेको बताउँछन्। उनका अनुसार एक दर्जन विशिष्टकृत सेवासहित सबै खाले रोगको उपचार हुने भएपछि अन्य अस्पतालबाट रिफर भएर आउने गरेको उनको भनाइ छ।
देशैभर र भारतबाट समेत बिरामी आउने गरेको उनको भनाइ छ। उनले भने, 'अहिले अस्पतालमा दैनिक एक हजार २०० हाराहारी बिरामी बहिरङ्ग सेवामा आउँछन्, तीमध्ये आधा अन्यत्रबाट रिफर भएर आएका हुन्।' अस्पतालमा ४५ प्रतिशत हाराहारी बिरामी चितवनका आउँछन् भने बाँकी अन्य जिल्लाका हुन्। यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भारतदेखि उपचारका लागि आउने बिरामीसमेत मेडिकल कलेजमा आउने गरेको लम्सालको भनाइ छ।
स्वास्थ्य बीमाको पहिलो बिन्दु सरकारी अस्पताल हुने भएकाले त्यहाँबाट थप उपचारका लागि रिफर भएर आउनेको सङ्ख्या ठूलो हुने गरेको लम्सालले जानकारी दिए। राजधानी बाहिर अन्यत्र नभएका सेवा आफ्नो मेडिकल कलेजमा हुँदा रिफरल बिरामी बढी आउने गरेको लम्साल बताउँछन्।
अस्पतालमा १८ जनाभन्दा बढी डिएम/एमसिएच गरेका विशेषज्ञ चिकित्सक रहेको उनको भनाई छ। अस्पतालमा पेडियाटिक सर्जरीमा एमसिएच गरेका चिकित्सक रहेको भन्दै उनले उपत्यका बाहिर यो सेवा अन्यत्र नरहेको दाबी गरे। इन्टरभेन्सन रेडियोलोजी सेवा अस्पतालमा रहेका छन्। रेडियोलोजीका माध्यमबाट रोग पहिचान र उपचार गर्ने उनले जानकारी दिए।
यस्तै न्यूक्लियर मेडिसिन, कलेजो र कपाल प्रत्यारोपण, थोरासिक एण्ड भास्कुलर सर्जरी, न्यूरो सर्जरी, मुटु, बाँझोपन निवारण र कृत्रिम गर्भाधान, ट्रमा सेन्टर, म्याग्जिलोफेसियर सर्जरी, ग्यास्ट्रोजस्ता डिएम र एमसिएच चिकित्सकसहितको सेवा अस्पतालमा रहेको छ। रासस