देशभर थपिए ४ सय ७६ नयाँ सङ्क्रमित, सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजारमा झर्यो
काठमाडौँ, १० फागुन । नेपालमा काेराेनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजारमा झरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या घटेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्न थालेको हो । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ७ सय ४७ रहेको छ ।
गत २४ घन्टामा देशभर थप ४ सय ७६ जना नयाँ सङ्क्रमित थपिएका छन् । मन्त्रालयको अद्य्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर ९ हजार ४ सय २४ कोरोना परीक्षण गरिएको छ । जसमा ६ हजार ६ सय ४० आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा २ सय ९९ र २ हजार ८ सय २० एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १ सय ७७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ७५ हजार ८ सय ६ र एन्टीजेन विधिबाट १ लाख ३८ हजार ९ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप ८ सय ३१ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोनाका सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ५३ हजार ४ सय ३० पुगेको छ ।
गत २४ घन्टामा देशभर थप ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ११ हजार ९ सय २८ जनाको मृत्यु भएको छ ।