तनहुँमा बमन थेरापीद्वारा श्वासप्रश्वाससम्बन्धी उपचार प्रभावकारी बन्दै
तनहुँ, ८ फागुन । तनहुँमा आयुर्वेद स्वास्थ्य केन्द्रमा ‘बमन थेरापी’ पद्धतिबाट गरिने उपचार सेवा प्रभावकारी बन्दै गएको छ । फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीलाई सो पद्धतिबाट उपचार गरिन्छ ।
शरीरभित्र खकारको मात्रा वृद्धि हुँदै जाँदा फोक्सो र श्वासप्रश्वाससम्बन्धी रोग लाग्न सक्ने र यस्ता बिरामीलाई सो पद्धतिबाट उपचार गरिने केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख डा रामप्रबोध मण्डलले थेरापीबाट शरीरभित्र जमेका खकारलाई निकालेर बिरामीलाई सञ्चो बनाइने बताए ।
सुरुमा जेठीमधु, मह, नुन मिसाएर बनाएको मनतातो पानी बिरामीलाई खाली पेटमा रुचुन्जेल पिउन लगाइन्छ । उनले भने, “बिरामीले उक्त पानी पिएको केही समयमै बमन गर्न थाल्छन् र शरीरभित्रका सबै विकार वस्तु बाहिर निकाली सञ्चो बनाइदिन्छ ।”
यसरी बमन हुँदा शरीरभित्र रहेका कफदोष निकाली श्वासप्रश्वासमा सहज र शरीर पनि हल्का हुने जनाइएको छ । उक्त विधि हप्तामा एकपटक गराइने छ । उनले भने, “श्वासप्रश्वास समस्याका बिरामीका लागि बमन विधि अचूक उपचार बन्ने गरेको छ ।
यसैगरी नश्याकर्म विधिबाट नाकभित्र रहेका फोहरमैला बाहिर निकाल्ने गरिएको छ । नाकमा षड्विन्दु तेल प्रयोग गरी मसाज गरेर नाकभित्र जमेर रहेका विकार सजिलै बाहिर निकालिने उनले बताए ।
पछिल्लो समयमा केन्द्रमा विभिन्न किसिमका जटिल प्रकृतिका बिरामीले सहजरूपमा र प्रभावकारी सेवा पाउन थालेपछि आयुर्वेदिक उपचारतर्फ मानिसको आर्कषण बढ्दै गएको छ ।
आयुर्वेद स्वास्थ्य केन्द्रको आडमै दमौली अस्पताल रहे पनि स्वर बसेका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, बाथ, हाडजोर्नी, दम, ग्यास्ट्रिक, प्रसूतिलगायतका सेवा लिन सर्वसाधारणको भीड नै लाग्ने गरेको सो स्वास्थ्य केन्द्रले जनाएको छ ।
रासस