कोरोनाविरुद्धको खोप अभियानः कुल जनसङ्ख्याको झन्डै ५८ प्रतिशतले लगाए पूर्णमात्रा

८ लाखभन्दा बढीलाई अतिरिक्त मात्रा लगाइयो



Download our app to get more features

काठमाडौं, ७ फागुन । सरकारले चलाएको कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत हालसम्म कुल जनसङ्ख्याको झन्डै ५८ प्रतिशत नागरिकले पूर्ण मात्रा खोप लगाएका छन् ।

गत वर्षको माघ १४ गतेबाट सुरु भएको खोप अभियान अन्तर्गत सरकारले लिएको लक्ष्य अनुसार कुल जनसङ्ख्याको ५७ दशमलव ९ प्रतिशत नागरिकले पूर्ण मात्रा कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । 

खोप अभियान सञ्चालन भएको बेला सरकारले २०७८ को चैत मसान्तसम्म लक्षित सबै उमेर समूहलाई खोप लगाइसक्ने बताएको थियो । सोही अनुसार खोप अभियानलाई सरकारले निरन्तरता दिँदै आएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेकोमा २ करोड १३ लाख ३ हजार १ सय ९५ जना अर्थात् ७३ प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाइसकेका छन् । जबकी १ करोड ६९ लाख ९ हजार ६ सय २६ जना अर्थात् ५७ दशमलव ९ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

सरकारले खोप अभियान सुरु गर्दा प्राथमिकताका आधारमा खोप लगाएको थियो । तर, पछि १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउने लक्ष्य राखेर खोप अभियान सञ्चालन गर्यो । जस अनुसार सरकारले २०७८ को चैत मसान्तसम्म १८ वर्षभन्दा माथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने भन्यो । 

सरकारले लिएको लक्ष्य अनुसार नेपालमा १८ वर्षभन्दा माथिका १ करोड ९९ लाख २२ हजार १ सय ६४ जना छन् । जसमा १ करोड ८० लाख ३३ हजार ९ सय ९७ जनाले कम्तिमा एक मात्रा खोप लगाइसकेका छन् । यो कुल लक्षित जनसङ्ख्याको ९० दशमलव ५ प्रतिशत हो । जबकी १ करोड ५२ लाख ६४ हजार ६ सय ८५ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् । यो कुल लक्षित जनसङ्ख्याको ७६ दशमलव ६ प्रतिशत हो । 

सरकारले कोभिशिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसन र एस्ट्राजेनेकाको गरी खोप लगाउने काम गर्दै आएकोमा यसैबर्षको कात्तिकदेखि १२ देखि १७ वर्ष उमेर समूहकालाई पनि खोप लगाउन सुरु गर्यो । 

नेपालमा १२ देखि १७ वर्ष उमेर समूहका ३४ लाख ५ हजार ४ सय ५५ जनसङ्ख्या रहेको छ । उनीहरूलाई मोडर्ना र फाइजरको खोप सरकारले लगाउँदै आएको छ । हालसम्म सो उमेर समूहका लक्षित जनसङ्ख्याको ४४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् भने ८८ प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाइसकेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म १२ देखि १७ वर्ष उमेर समूहका २९ लाख ९९ हजार ३५ जनाले कम्तिमा एक मात्रा खोप लगाएका छन् भने १ लाख ५१ ह्जार ५८ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् । 

अबको पालो भनेको ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाको रहेको सरकारले बताएको छ । सरकारले ती उमेर समूहलाई लक्षित गरी खोप ल्याउने विषयमा गृहकार्य गरिरहेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाको खोप शाखा प्रमुख सुरेन्द्र कुमार चौरसियाले अमेरिकाको फाइजर कम्पनीसँग ५ देखि ११ वर्ष उमेर समूहका लागि खोप ल्याउने विषयमा छलफल भइरहेको बताए ।

उनले सबै डकुमेन्टेसनको काम भइरहेको र पत्र पनि पठाइसकिएको भन्दै अबको केहि समयमै खोप आउने बताए ।

कोरोना महामारीको जोखिमबाट जोगिनका लागि एक मात्रै विकल्प रहेको कोरोना खोप अनिवार्य लगाउन सरकारले आग्रह गर्दै आएको छ भने पछिल्लो समय बुस्टर मात्रा पनि लगाउन थालेको छ । माघ २ गतेबाट सुरु भएको बुस्टर अभियानमा हालसम्म ८ लाख ४२ हजार ५ सय ९० जनालाई बुस्टर लगाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको लक्ष्य अनुसार नेपालले आगामी वर्षको असार १५ सम्म कुल जनसङ्ख्याको ७० प्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने छ । हालसम्म नेपालको कुल जनसङ्ख्याको ५७ दशमलव ९ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइसकेका छन् ।   

हालसम्म नेपालमा ३ करोड ६० लाख ७९ हजार १ सय ५९ मात्र खोप आइसकेको छ । जसमा १ करोड ८३ लाख २६ हजार ९ सय ४३ एक मात्रा खोप लगाइएको छ भने १ करोड ६९ लाख ९ हजार ६ सय २६ पूर्ण मात्रा खोपको लागि प्रयोग भएको छ ।

नेपाललाई विभिन्न निकायबाट हालसम्म ४ करोड ७८ लाख ८२ हजार ८ सय मात्रा खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ । 

Last modified on 2022-02-19 15:54:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts